२४ घण्टामा ४ सय ९६ जनामा कोरोना सङ्क्रमण, गण्डकीका २ सहित १३ जनाको ज्यान गयो

corona

चैत ३०, कास्की,


पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा एक सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ सय ६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैबिच कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाले ज्यान गुमाएका छन् ।
पोखरा महानगरपालिकाका ७८ वर्षीय १ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । उनको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा आज ज्यान गएको हो । यस्तै तनहुँका ५१ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा नै हिजो ज्यान गएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ७ पुगेको छ । त्यस्तै कास्कीमा थप २३ जना सहित गण्डकी प्रदेशमा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आज थपिएका २१ जना पोखरा महानगरापालिका र २ जना माछापुछ«े गाउँपालिकाका रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेश कै अर्को जिल्ला नवलपरासी पूर्व नवलपुरमा पनि थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९ सय ३३ पुगेको छ ।