गण्डकी प्रदेशका ३४ जना सहित नेपालमा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टी

corona

चैत २९, कास्की,

नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार २८ पुगेको छ । आइतवार कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक सय ५४ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ४१ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार २७ पुगेको छ । अहिले नेपालमा २९ सय ६१ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा एक जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ४० पुगेको छ ।
यसैबिच पोखरामा ३१ सहित कास्कीमा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा ३१ सहित कास्कीमा आज थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै गण्डकी प्रदेश कै अर्को जिल्ला बाग्लुङमा २ जना, स्याङ्जामा २ र पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९ सय ७ पुगेको छ ।