“खोप वितरणमा असमानता भयो” : विश्व स्वास्थ्य संगठन

11

चैत २८, एजेन्सी ,
विश्व स्वास्थ्य संगठनले धनी र गरिब देशबीच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको असमानताको आलोचना गरेको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस खोप वितरणमा गम्भीर असमानता रहेको अस्वीकार्य रहेको बताउनुभयो ।
उहाँले आजसम्म विश्वका सबै देशमा खोप अभियान सुरु गर्ने लक्ष्य पूरा नभएको भन्दै अप्रिल र मे महिनामा उक्त लक्ष्य भेट्टाउन सक्ने अपेक्षा रहेको बताउनुभयो ।
डब्लुएचओले कोरोनाको खोपको समान वितरणमा जोड दिँदै आएको छ । कोभ्याक्स अभियानको नेतृत्व गरेको डब्लुएचओले सो अभियान अन्तर्गत हालसम्म एक सय देशमा तीन करोड ८० लाख मात्रा खोप वितरण गरिसकेको छ ।
कोभ्याक्सअन्तर्गत मार्च अन्तिमसम्ममा १० करोड खोप वितरण गर्ने तय भए पनि तीन करोड ८० लाख मात्रा वितरण भएको छ ।