यो सरकार राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको छ : माओवादी अध्यक्ष प्रचण्ड

prachanda

चैत २८, काठमाण्डौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानुनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताउनु भएको हो । यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हिजो मात्रै हामी संसद भित्र भएका तीनवटा प्रमुख दलहरुको बैठक बस्दै थियौं । राज्यका सबै अङ्गहरुमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र शुरु भएको छ भन्नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो विडम्बनाको स्थिति हो ।’

सरकारले कानुनअनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि प्रचण्डले बताउनुभयो । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्नतर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि बताउनुभयो ।

यस्तै सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्नेमा पनि उहाँले जोड दिनुभयो । लोकतान्त्रिक गणतन्त्र र संविधान सभामार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको उहाँको भनाइ छ ।