चैत २७, काठमाण्डौ,
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन सङ्घको केन्द्रीय कार्यसमितिले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातिर बढिरहेकाले विकल्प खोज्नुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्रीले संसद्को रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग ग¥यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयो । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भए पनि सरकार बदल्न इमानदार प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेता पौडेलले विगतमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताउनुभयो ।
पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनावमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । व्यवस्था बचेमा मात्रै सत्ता आफैँ आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने उहाँको भनाइ छ ।