पोखरा सहित देशभर वायू प्रदुषणमा सामान्य सुधार, आकास अझै खुलेन

mausam sanket

चैत २७, पोखरा,

कास्कीको पोखरा सहित गण्डकी प्रदेशका लगभग सबै जिल्लाहरुमा आज विहानै देखि वायू प्रदुषणमा सामान्य सुधार आएको छ । पोखराको वायु प्रदूषण अहिले अति हानिकारक अवस्थाबाट अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जानकारी दिएको हो । केही दिनअघि नेपालको वायु प्रदूषण मापन गर्ने एक्यूआई ४ सय ७० सम्म पुगेको थियो तर अहिले सुधार भएर १५० भन्दा तल झरेको विभागको भनाई छ । बिहिबार नेपालको एक्यूआई दुई सयभन्दा माथि मापन गरिएको थियो ।

वायु प्रदूषण कम हुँदै गएको तर अस्वस्थ अवस्था अझै कायम भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । ठूलो पानी नपर्दासम्म अझै केही दिन प्रदूषण कायमै रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज साँझ पख गण्डकी प्रदेशका केहि पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कंडेलले जानकारि दिनुभयो । नेपालमा अहिले न्यूनचापीय मौसमी प्रणालीको विकास भएकोले अझै एक÷दुई दिन हल्का पानी पर्ने र आउँदो सोमवार पछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद कंडेलले बताउनुभयो ।

बङ्गालको खाडीबाट आएको न्यूनचापीय मौसमी प्रणालीका कारण गण्डकी प्रदेशको मौसम आंशिक रुपमा बद्ली भएको मौसमविदको भनाई छ । पोखरामा विहानै देखि घाम लागेपनि आकाशमा तुवाँलो भने अझै कायमै रहेको छ ।