गण्डकी प्रदेशका २ जना मन्त्रीले राजिनामा दिँदै/माओवादी केन्द्रले सरकारलाई गरेको समर्थन भने तत्काल फिर्ता नलिने

gandaki pardesh sabha

चैत २५, कास्की,


गण्डकी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आफ्नो पार्टीका तर्फबाट सहभागि मन्त्रीहरूको राजीनामा माग्ने निर्णय गरेको सांसद दीपक कोइरालाले जानकारी दिनुभयो ।


गण्डकी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हरि चुमान र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा रहेका छन् ।

माओवादी केन्द्रले सरकारलाई गरेको समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ ।

सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने अर्का एक सांसदले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन एमाले बाहेक सबै दल एक ठाउँमा आउनुपर्छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका १२ सांसद छन्, जसमध्ये एक नेत्रनाथ अधिकारी सभामुख छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।
सबभन्दा ठूलो दल एमालेका २७ सांसद छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन पनि रहेको छ । यदि राष्ट्रिय जनमोर्चाले साथ दिने हो भने मुख्यमन्त्री गुरुङको सरकार बच्ने देखिएको छ ।

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।