पोखराका १५ सहित २४ घण्टामा २६० जनामा कोरोना सङ्क्रमण

corona

चैत २४, कास्की,
पोखराका १५ जना सहित पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार चार सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप एक सय १३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार चार सय ५५ पुगेको छ । नेपालमा अहिले १९ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणका कारण नेपालम अहिलेसम्म तीन हजार ३६ जनाको ज्यान गइसकेको छ । यसैबिच कास्कीमा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा १५ तथा माछापुच्छ«े गाउँपालिकामा ३ सहित थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशकै अर्को जिल्ला बाग्लुङमा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बाग्लुङ नगरपालिका तथा धौलागिरी अस्पतालका रहेका छन् । उता पर्वत र तनहुँमा १,१ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ७ सय ४० पुगेको छ ।