गण्डकी प्रदेशका ३६ जनामा कोरोना संक्रमण पुष्टि/चीनबाट प्राप्त कोभिडविरुद्धको खोप चैत २५ देखि लगाउने सरकारको तयारी

corona

चैत २२, कास्की,

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३६ जना सहित देशभर १७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये थप ११७ जनासहित हालसम्म २ लाख ७३ हजार २४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेश भित्रका कास्कीको पोखरा महानगरपालिकाका २४ जना, बाग्लुङमा ८ जना र तनहुँमा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ६ सय ८९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमतिको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको मन्त्रालयले जनाएको छ ।
यसैबिच सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताए । उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ । खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर खोप नलगाएकाहरूलाई यो खोप लगाइने बताएको छ ।