गण्डकी प्रदेशका ३ जिल्ला सहित देशभरका १२ जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

hatti paile rog

चैत २०, कास्की,

आजदेखि गण्डकी प्रदेशका लमजुङ, बाग्लुङ र पर्वत गरी तीन जिल्ला सहित देशभरका विभिन्न १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका कारण धेरैले औषधि खान नमान्दा अभियान प्रभावकारी हुन सकेको छैन ।


स्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा १२ औं पटक औषधी खुवाउन लागेको हो । जिल्लाका १ लाख ५९ हजार ८ सय ७८ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो । उहाका अनुसार २ बर्ष मुनिका बालबालिका, गर्भवती, औषधी खान नहुने समूहबाहेक सबैलाई औषधी खुवाइँदै छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले हात्तीपाइले विरुद्धको औषधिले केहीलाई रिँगटा लाग्ने, ज्वरो आउने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिए पनि केही समयपछि यो समस्या हट्ने बताउनुभयो । तर, दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, कडा रोगको लागि औषधि खाइरहेका व्यक्ति र कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई भने यो औषधि खुवाउन हुँदैन ।

हात्तीपाइले रोग सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । शरीरमा यसको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । लक्षण देखिसकेपछि भने यो रोग निको पार्न सकिँदैन । नेपालमा अझै पनि झण्डै ३० हजार जना हात्तीपाइलेका बिरामी रहेका सरकारी अनुमानित तथ्याङ्क छ ।