वर्षाका कारण वायुमण्डल केहि सफा, डढेलो नरोकिए प्रदुषण अझै बढ्न सक्छ

mausam sanket

चैत १९, कास्की,


देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका विभिन्न स्थानमा भएको वर्षाले वायु प्रदूषणमा केही कमी आएको देखिएको वातावरण विभागले जनाएको छ । बुधबार बेलुका पोखरा सहित गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण वायुमण्डलमा जमेको धुलोका कणहरु केही मात्रामा पखालिँदा प्रदूषणको तह कम भएको देखिएको वातावरण विभागको तथ्यांक छ । मौसमविद मञ्जु बासीका अनुसार गोरख–तनहुँको आसपासमा करिब तीन घण्टाको अवधिमा १६.८ मिलिमिटर पानी परेको छ ।
मौसमविद बासीले भनिन्, ‘गण्डकी प्रदेशमा विकास भएर पूर्वतिर सर्दै गरेको प्रणालीका कारण वर्षा भएको हो । गोरखासहितका क्षेत्रमा बुधबार बेलुका पाँच बजेतिर नै पानी परेको थियो । केही क्षेत्रमा चट्याङ्ग पनि परेको उनले बताइन् ।
पश्चिमी वायु, निम्न चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण पानी पर्ने खालको मौसमी प्रणाली विकास भएको हो । आज पनि यी क्षेत्रका पहाडी भू–भागमा पानी पर्ने सम्भावना रहेको तर बुधबार बेलुका जस्तो भने नपर्ने मौसमविदको भनाई छ ।
बुधबार बेलुका परेको पानीले झण्डै एक हप्तादेखि अत्याधिक मात्रामा बढेको पोखरा सहितका क्षेत्रको वायु प्रदूषणबाट तत्कालका लागि राहत मिलेको छ । तर देशका विभिन्न क्षेत्रमा डढेलोको क्रम नरोकिने हो भने केही दिनमै फेरि प्रदूषण उच्च तहमा पुग्न सक्ने मौसमविदको भनाई छ ।
हिउँदमा निकै कम वर्षा हुँदा धुलोका कण जम्मा भएर प्रदूषित पोखरा सहितका विभिन्न क्षेत्रको वायुमा डढेलोको धुवाँ मिसिँदा गएको शुक्रबारदेखि अवस्था अति नाजुक भएको थियो । सोही कारण सरकारले आउँदो शुक्रबारसम्मका लागि शैक्षिक संस्था बन्द गरेको छ ।