चैत १७, कास्की,
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ ।
यस्तै गएको २४ घण्टामा एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय २७ पुगेको छ । अहिले नेपालमा १३ सय ९० जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीस पुगेको छ ।
यसैबिच पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा तथा विध ल्याब ललितपुरमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ५ सय ६१ पुगेको छ ।