चैत १७, कास्की,
जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको समयमा पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।
हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । यसैबिच पोखरा महानगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
वायु प्रदूषण बढेपछि महानगरको स्वास्थ्य महाशाखाले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो । महाशाखाले सूचना जारी गर्दै मास्कको अनिवार्य प्रयोग गर्न, जथाभावी आगो नबाल्न र प्रदुषण कम हुने साधन प्रयोग गर्न आग्रह समेत गरेको छ ।
आज मौसममा सुधारआउने अनुमान गरिएपनि वायु प्रदुषण कायमै रहेकोले विषेश गरि स्वास्थ्यमा समस्या सृजित हुन नदिनको लागि पनि घर भित्रै रहन र अत्यावश्यक अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै निस्किन अनुरोध गरिएको हो ।