२४ घण्टामा देशभर १४१ जनामा कोरोना सङ्क्रमण पुष्टी : गण्डकी प्रदेशमा थपिए ४५ संक्रमित

corona

चैत १६, कास्की,

पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार नौ सय ८० पुगेको छ । यस्तै थप ८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६ सय १२ पुगेको छ । अहिले नेपालमा १३ सय ४१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार २७ जनाको ज्यान गएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा कास्की जिल्लाका ३२ जना सहित गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जारी विज्ञप्ति अनुसार आज कास्कीका २२१ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ३१ जना र माछापुछ्रे गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । यस्तै आज पर्वतका ५, बाग्लुङका ६, म्याग्दीका २ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । आज पुष्टि भएका ४५ जनासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५ सय २५ पुगेको छ । जसमा २८५ सक्रिय संक्रमित छन् ।