कोरोना कहर : भारतको निर्णय नेपालमा प्रभाव

corona

चैत १२, पोखरा ।

भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएपछि त्यसको नेपालमा पनि प्रभाव पर्ने भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख डोज खोपमात्रै नेपाल आएको छ । बाँकी १० लाख डोज यही महिनाभित्र आउने भनिए पनि भारतले खोप निर्यातमा रोक लगाएसँगै अनिश्चित बनेको छ ।

भारतले पठाउनु पर्ने बाँकी १० लाख डोज कहिलेसम्ममा आउँछ भन्नेमा अन्योल रहेको विज्ञले बताएका छन् । ‘खोप खरिद गरिसकेकाले नपठाउनुको विकल्प हुँदैन, कति समयपछि पठाउँछ भन्ने मात्र हो’ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीले भन्नुभयो ।

भारतीय खोप उत्पादक कम्पनीले खोपको पैसा लिइसकेकाले उसले खोप पठाउनै पर्ने उहाँले बताउनुभयो । यसबीचमा कम्पनीसँग भएको छलफलमा नेपाललाई प्राथमिकतामा राखेर खोप दिने प्रतिबद्धता आएकाले ढिलो गरी भए पनि खोप आउने उहाँले बताउनुभयो ।

भारतले पठाउनुपर्ने १० लाख डोज खोप नआएपछि नेपालमा कोरोनाविरुद्धको दोस्रो खोप अभियान प्रभावित भएको छ । नेपालमा सबैभन्दा पहिले गएको माघ ८ गते भारतबाट अनुदानमा १० लाख डोज खोप आएको थियो । यो खोप सरकारले माघ १४ गतेदेखि अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर वितरण गरिएको थियो ।

यसपछि भारतसँग सरकारले २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोजमात्रै भित्रिएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको थियो ।