चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा क्षयरोगका एक हजार भन्दा धेरै बिरामी

tb rog

चैत ९, पोखरा ।


गण्डकी प्रदेशमा यस वर्ष एक हजार १२७ जना क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात हजार ७८४ शंकास्पद बिरामीमध्ये एक हजार १२७ जनामा क्षयरोग पुष्टि भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा कूल एक हजार ९४८ क्षयरोगका बिरामी पहिचान भएका थिए ।
गण्डकीमा फेला परेका क्षयरोगीमध्ये सबैभन्दा धेरै कास्कीका तीन सय ४७ जना रहेका छन् । त्यसैगरी, नवलपरासी पूर्व नवलपुरमा २५४, स्याङ्जामा १०१, गोरखामा १११, तनहुँमा १३२, लमजुङमा ४९, बागलुङमा ७७, म्याग्दीमा २४ र पर्वतमा ३१ जना क्षयरोगी पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले जानकारी दिनुभयो ।
बसौलाका अनुसार हिमालपारीको जिल्ला मनाङमा यस वर्ष एक जना क्षयरोगी फेला परेको छ । मुस्ताङमा भने क्षयरोगका बिरामी शून्य रहेका छन् । गण्डकीमा यस वर्ष क्षयरोग निको हुने दर ९० प्रतिशत रहेको छ । क्षयरोगबाट मृत्यु हुनेको संख्या हालसम्म ४६ पुगेको छ । अघिल्लो वर्ष कोरोना प्रकोपका कारण केही पत्ता लाग्ने र उपचार सफल हुने दर घटे पनि यस वर्ष बढ्ने विश्वास लिइएको छ ।