मस्र्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु, २ घाईते

accident sanket

चैत ८, पोखरा ।

मनाङमा मस्र्याङ्दी नदीमा ट्रक खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह चार बजेतिर नासों गाउँपालिका–३ खोत्रोबाट मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको उपचार भइरहेको छ ।
सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक मर्स्याङ्दी नदीमा खसेको हो । अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर ट्रक मर्स्याङ्दी नदीमा खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी खड्काले बताउनुभयो ।
मालबाहक भए पनि ट्रकमा चालक, सहचाकलसमेत गरी आठ जना यात्रु थिए । उनीहरूमध्ये ६ जनाको मृत्यु भएको हो । ‘चिनेजानेका व्यक्तिलाई मानवताका हिसावले ट्रकमा चढाएको देखिन्छ’, खड्काले भन्नुभयो ।
मृत्यु हुनेमा नासों गाउँपालिका–४ ओडारकी ३५ वर्षीया मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन र २६ वर्षीया जलकाशी गुरुङ छन । यस्तै तीन वर्षीय बालक निहल गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ । यस्तै मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका २१ वर्षीय सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ बस्ने २८ वर्षीय धनमान भनिने राजु विश्वकर्माको पनि मृत्यु भएको छ ।
तीन जनाको मनाङ अस्पतालमा, दुईजनाको लमजुङ अस्पतालमा र एकजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको डीएसपी खड्काले बताउनुभयो । घाइते हुनेमा सवारीधनीसमेत रहेका चालक सुमन तामाङ र नासों गाउँपालिका–४ का अन्दाजी ७ वर्षका थिउन गुरुङ रहेका छन् । उनीहरुको उपचार भइरहेको छ ।