नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल अब सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
२०५८ सालदेखि बन्द रहेको हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालनमा ल्याइने भएको हो । तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको ह त्यापछि यस हल बन्द रहेको थियो ।
२० वर्षपछि खुल्न लागेको सिनेमा हलमा सर्वसाधारणले फिल्म तथा डकुमेन्ट्रीहरु हेर्न पाउनेछन्
नारायणहिटी दरबारभित्र भएको सिनेमा हलमा तत्कालिन राजपरिवारका सदस्य र नातेदारले फिल्म हेर्ने गर्थे । दरबार हत्याकण्डसँगै बन्द गरिएको हल पुनः सञ्चालनको तयारी भइरहेको छ ।
२०२६ सालमा खोलिएको सिनेमा हलमा ११६ सिट रहेका छन् । राजपरिवारका मुख्य सदस्यका लागि ५ वटा सोफा र अरु सदस्यका लागि कुर्चीको व्यवस्था गरिएको थियो । अहिले धुलाम्य बनेका सोफा, कुर्ची, प्रोजेक्टर, सिनेमा तथा डकुमेन्ट्रीका रिलहरुको सरसफाई तथा रंगरोगन तथा मर्मत सम्भारको काम भइरहेको छ ।
यो सिनेमा हल वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्न लागिएको छ जहाँ राजपरिवारका सदस्यले बसेर हेर्ने सोफा तथा कुर्चिमा सर्वसाधारण बसेर सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउनेछन् ।
दरबार अवलोकन गर्न आउने दर्शकलाई दरबारमा रहेका पुराना सिनेमा र डकुमेन्ट्री देखाउने दरबार संग्राहलयको तयारी छ । त्यहाँ स्वदेशी तथा विदेशी पुराना सिनेमा, डकुमेन्ट्री, राजपरिवारका महत्वपूर्ण इभेन्टका रिलहरु रहेको बताइन्छ ।