कुलतमा फसेका श्रीमान्- जसले ड्रग्स किन्ने पैसा ‘लुट्न’ श्रीमतीको हत्या गरे

काठमाडौं । मकवानपुरको हटिया घर भइ काठमाडौंको बल्खुस्थित सुकुम्बासी टोलमा बस्दै आएका सन्तोष सापकोटा र काठमाडौंको जोरपाटी घर भएकी सन्तोषी श्रेष्ठ प्रेम सम्बन्धमा थिए ।

आर्थिक र जातीय हिसावले दुवै जनाको परिवारबीच ‘असमानता’ थिए । तर, सन्तोष र सन्तोषी विवाह गर्ने निष्कर्षमा पुगिसकेका थिए ।

जात पनि नमिल्ने त्यसमाथि सुकुम्बासी टोलमा बस्ने केटो ! सन्तोषीका आमा-बुवा आफ्नी छोरीको विवाह सन्तोषसँग गराउन इच्छुक थिएनन् ।

सन्तोषीले परिवारको कुरा नसुनेर सन्तोषसँगै जीवन विताउने अठोट गरिसकेकी थिइन् । १ वैशाख २०६३ मा सन्तोषीले सन्तोषसँग प्रेम विवाह गरिन् ।

विवाह पछिको जीवन राम्रै चल्दै थियो । ५ वर्षपछि पहिलो सन्तानको रुपमा छोरा जन्मिए । सन्तोषी परिवारलाई सुकुम्बासी टोलबाट बाहिर निकाल्न चाहन्थिन् । ‘ऋण-पान’ गरेरै भएपनि सानो घर बनाउने उनको योजना थियो ।

तर, पछिल्ला केही वर्षदेखि सन्तोषको बानी भने बदलिँदै गएको थियो । उनी श्रीमतीदेखि परिवारका अरु सदस्यसँग झर्किएर बोल्थे । घरको काम सघाउँदैनथे ।

सामान्य कुरामा पनि अनावश्यक विवाद गर्थे । सन्तोषकै व्यवहारले गर्दा दाम्पत्य जीवन पनि असहज भयो । आफूमाथि अनेक आरोप लगाएर कुटपिट गर्न थालेपछि सन्तोषी गत चैतदेखि जोरपाटीस्थित आफ्नो माइत बस्न थालिन् ।

जति सम्झाउँदा पनि नमानेपछि सन्तोषी उनीसँग कानूनी रुपमै अलग्गिन (डिभोर्स गर्न) चाहन्थिन् । तर, सन्तोष भने त्यसमा राजी थिएनन् ।

डिभोर्सको कुरा चले पनि सन्तोषी आफ्नो छोरा र परिवारका सदस्यलाई भेट्न बीच-बीचमा माइतीबाट बल्खुस्थित घर पुग्ने गर्थिन् ।

सोमबार (चैत २ गते) पनि सन्तोषी छोरालाई भेट्न बल्खुस्थित घर पुगेकी थिइन् । उनी पुग्दा सन्तोषका बुवा पनि घरमै थिए ।

पुग्दानपुग्दै पति सन्तोषले झगडा गर्न थाले । बाबु कराएपछि सन्तोष केहीबेर चुप लागे । सन्तोषी माइती फर्किने तयारी गर्दैथिइन् ससुराले आफू बाहिर जानुपर्ने काम परेकाले एकछिन बस्न भने ।

ससुराको कुरा मानेर उनी एकछिन घरमै बसिन् । तर, त्यो एकछिनको बसाइ उनको जिन्दगीका लागि अन्तिम बन्यो ।

पति सन्तोषले टाउकोमा हथौडा (हम्मर)ले हानेर उनको हत्या गरिदिए । पत्नीको हत्या गरेपछि शव बोरामा पोको पारेर घर पछाडिको पेटीमा छाडेर सन्तोष त्यहाँबाट फरार भए ।

साँझ घर फर्किएका सन्तोषका भाइ तेजबहादुरले घरको पेटीमा राखिएको बोराबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बोरा खोलेर हेर्दा सन्तोषीको शव भेटिएको थियो ।

सोमबार श्रीमतीको हत्या गरेर भागेका सन्तोषलाई प्रहरीले घटनाको दोस्रो दिन (चैत ३ गते, मंगलबार) साँझ बल्खुको फलफूल बजारबाट पक्राउ गरेको छ ।

ड्रग्स किन्ने पैसा लुट्न श्रीमतीको हत्या ?

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतका अनुसार सन्तोषले केही वर्षदेखि अगाडिदेखि नै लागू औषध सेवन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय उनी काममा नगएर लागू औषध सेवन गरेरै बस्थे । काममा नजाने भएपछि लागू औषध किन्न समेत उनीसँग पैसाको अभाव हुन्थ्यो ।

सोमबार बल्खु पुग्दा सन्तोषीसँग २३ हजार रुपैयाँ नगद थियो । सहकारीबाट लिएको ऋणको किस्ता तिर्न भनेर बोकेको पैसा लुट्नकै लागि सन्तोषले श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।

श्रीमतीको हत्या गरेपछि उनी नगद २३ हजार रुपैयाँसहित आइफोन, श्रीमतीले लगाएको गर-गहना लिएर भागेका थिए । प्रहरीका अनुसार श्रीमतीको हत्या गरेपछि सन्तोष उनले बोक्ने गरेको आइफोन १ थान, सुनको मुद्रा २ थान, सन्तोषीले हातमा लगाएको बाला १ थान र नगद २३ हजार रुपैयाँ लिएर भागेका थिए ।

मंगलबार बल्खु तरकारी बजारबाट पक्राउ गर्दा प्रहरीले उनको साथबाट आइफोन १ थान, कानमा लगाउने मुद्रा २ थान, हातको बाला लगायत गहना र नगद ११ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह लागू औषध सेवन गर्नका लागि पैसा लुट्नकै लागि सन्तोषले श्रीमतीको हत्या गरेको देखिएको बताउँछन् ।

‘प्रारम्भिक अनुसन्धानबाट ड्रग्स किन्ने पैसा लुट्नकै लागि श्रीमतीको हत्या गरेको देखिएको छ,’ एसएसपी सिंहले भने ।