नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, रौतहटका एकको मृत्यु ।

असार १५, पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका २२ प्रयोगशालामा ७ हजार ७ सय ९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । याेसँगै कुल संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १ सय ३४ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको जनाएकाे छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । त्यही दिन स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यही राति उनको मृत्यु भयो भने १४ गते कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५/५ जना, प्युठान, चितवन र महोत्तरीका ४/४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका १/१ छन् ।

यस्तै, काठमाडौं उपत्यकामा पनि ८ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ६ जना काठमाडौंका छन् भने भक्तपुर र ललितपुरका १/१ जना रहेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।