असार ३, नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ह्वात्तै बढ्न थालेको छ। बुधबार मात्रै कोरोना संक्रमणका कारण तीनजनाको ज्यान गएको पुष्टि भएको छ। यसअघि नै ज्यान गुमाएका अन्य दुईजनामा पनि बुधबारै कोरोना पुष्टि भएको छ।
बुधबार बाँकेका एकजना र कैलालीका दुईजनाको उपचारका क्रममा ज्यान गएको छ। सुर्खेतका एकजना र अर्घाखाँचीमा ज्यान गुमाइसकेकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार बाँकेको बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले ती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका थिए।
उनको मृत्युसँगै कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २० पुगेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि ती महिलाको कोरोनाबाटै मृत्यु भएको पुष्टि गरेका थिए।
बाँकेमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने उनी दोस्रो व्यक्ति थिइन्। ती महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो।
निमोनिया रोगले ग्रस्त ती महिला जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको थियो।
बाँकेमै अर्को मृत्यु
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी अर्की महिलामा पनि कोरोना पुष्टि भएको छ।
शिक्षण अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका–६, बाँकेकी ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको १२ घण्टा बित्न नपाउँदै लम्की–चुहा नगरपालिका–२, कैलालीकी अर्को महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताए।
उनको मंगलवार राति ११ बजे मृत्यु भएको हो। श्रेष्ठले मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको बताए। उनको मंगलवार दिउँसो स्वाब लिइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ ।
टाउकोमा चोट लागेर घाइते महिलालाई ३१ जेठमा उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो। उनको पनि आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा शिक्षण अस्पतामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
उनको शव शिक्षण अस्पतालको शव गृहमा राखिएको छ। जनस्वास्थ्य मन्त्रालयले आधिकारिक घोषण गरेपछि शव ब्यवस्थापन गरिने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका उप–निर्देशक नितेश कनोडियाले बताए।
अर्घाखाँचीका पुरुषमा कोरोना
अर्घाखाँचीस्थित थाहाकर्मी विष्णुकुमार आलेका अनुसार झुन्डिएर आत्महत्या गरेका अर्घाखाँची शितगंगा–५ गल्दा चित्रे बारीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। शितगंगा–५ गल्दा हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ती पुरुषले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए।
आरडिटी पोजेटिभ देखिएका उनीसहित तीनजना साथीहरू क्वारेन्टाइनमा बस्दै आएका थिए। रातिको समयमा सँगै सुतेका साथीहरूलाई थाहै नदिइ उनले स्कुलको पूर्वतर्फको रुखमा आफूले बिछाउँदै आएको तन्ना च्यातेर आत्महत्या गरेका थिए।
उनी जेठ १० गते भारतबाट आएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडिटी परीक्षण गरिएको थियो।
उनको आरडिटीमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । तर मृतकको पिसिआर रिपोर्ट नआएपछि शवलाई ब्यवस्थापन गर्न कठिन भएको थियो ।
ती पुरुषले आत्महत्या गरेपछि पिसिआर रिपोर्ट नआउँदासम्म शवलाई दिनभर प्रहरी, सेना र स्थानीयले कुरेर बसेका थिए।
ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक बाबुराम बस्नेत नेतृत्वमा खटिएको प्रहरीको टोली र रामवाण गुल्म ठाडाका गुल्मपति ईश्वर काफ्लेको नेतृत्वको सेनाको टोलीले शव तारेपैरो फूलबारी सामुदायिक वनमा व्यवस्थापन गरेका छन्।
मृतक पुरुषसहित अर्घाखाँचीमा बुधबार ५२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १११ पुगेको छ।
यसअघि भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै अर्घाखाँचीकै पुरुषको ज्यान गएको थियो। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ गैरेको गत जेठ १४ गते बाटोमा ज्यान गएको थियो ।
सुर्खेतकी युवतीमा पुष्टि
दैलेखस्थित थाहाकर्मी उदयराज अधिकारीका अनुसार सुर्खेतको सिम्ता गाउँपालिकाकी एक २५ वर्षीया युवतीमा पनि कोरोना पुष्टि भएको छ। झुन्डिएर ज्यान गुमाइसकेकी उनमा पनि बुधबार नै कोरोना पुष्टि भएको हो।
भारत बाट फर्किएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकी उनमा आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो। तर घर गएको केही दिनपछि उनको शव झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि स्वाब लिएर गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएको हो।
समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले ती युवतीमा कोरोना पुष्टि भएको बताएका छन्। ज्यान गुमाइसकेकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको उनले बताएका छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।
सेतीमा उपचाररत संक्रमितको मृत्यु
डडेल्धुरास्थित थाहाकर्मी प्रकाश पार्कीका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको बुधबार मृत्यु भएको छ। शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय संक्रमित पुरुषको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आइसियुमा राखेर उनको उपचार भइरहेको थियो। बुधबार साँझ ७ बजेर ५२ मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
‘उहाँको कोरोनाकै कारण मृत्यु भएको छ। उहाँको स्वास्थ्य निकै जटिल अवस्थामा पुगेको थियो,’ उनले भने, ‘उहाँलाई काठमाडौं पठाउने पहल भएको थियो। तर, आज सम्भावना भएन। भोलिसम्म हुन्थ्यो होला, तर उहाँको साँझ मृत्यु भयो।’
मंगलबार रातिदेखि उनको स्वास्थ्य बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि सम्भव भएको थिएन। यसअघि उनमा नव जीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
यसअघि कैलालीकी दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भइसकेको छ।
हालसम्म कोरोना संक्रमणबाट गुल्मी, सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, वीरगञ्ज, बाँके, कैलाली, अर्घाखाँची, पर्सामा मृत्यु भएको छ।
Source :- Thahakhabar.com