लद्दाख भीडन्तमा २० भन्दा बढी भारतीय सैनिककाे मृत्यु ।

असार २, एजेन्सी : भारत र चीनको सीमा लद्दाखमा भएको झडपमा भारतीय सेनाका २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन उपत्यकामा भएको उक्त भिडन्तमा परी अरु भारतीय सैनिकको पनि ज्यान गएको हुन सक्ने भारतीय मिडियाले लेखेका छन्।

पछिल्लो डेढ महिनायता तनावग्रस्त बनेको यो क्षेत्रमा भारत र चीनका सैनिकबीच घम्साघम्सी पर्दै आए पनि यस्ताे खालको क्षति भने भएको थिएन। १५ जुन साँझदेखि तनाव सिर्जना भएको थियो। झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेका छन्।

ज्यान गुमाउनेमा बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबु, हवलदार पालानी र सिपाही कुन्दन झा छन्। ज्यान गुमाउने अन्य भारतीय सैनिकको भने भारतीय सञ्चारमाध्यमले नाम उल्लेख गरेका छैनन्।