बैशाख २२, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ ।
बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ । सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।
आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामाग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ ।
नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।
Source :NTV