सुदूर पश्चिम प्रदेश सभा टोलीलाई पोखरामा स्वागत

पोखरा ।

प्रदेश सभा बीच अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ पोखरा आएको सुदूर पश्चिम प्रदेश सभा टोलीलाई आज पोखरामा आयोजित एक समारोहका बीच स्वागत गरिएको छ ।

सुदूर पश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वको १७ सदस्यीय टोलीलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्वागत गनुुभयो । भ्रमणले दुबै प्रदेश सभाले यस अवधिमा भए गरेका गतिविधि तथा अनुभव साटासाट गर्न महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा संघीयताको कार्यान्वयनसँगै संसदीय अभ्यासका सम्वन्धमा भईरहेका अनुभव, काम कारवाही लगातयमा छलफल एवम् अन्तरकृया गरिएको थियो । छलफलमा उपसभामुख शर्माले गण्डकी प्रदेश सभामा अघिकांश बिषय सर्वसम्मत परित भएको अनुभव सुनाउँदै प्रदेशलाई समृद्धि र विकासको मार्गमा लैजान सबैको एकताबद्ध प्रयास भैरहेको बताउनुभयो ।

भ्रमण टोली नेता प्रमुख सचेतक तारा लामा तामाङले एक हप्ते अध्ययन अवलोकन क्रममा संघमा राष्ट्रिय सभा, प्रतिनिधि सभा सहित प्रदेश नं. १, ३, ५ को भ्रमण सम्पन्न गर्दै गण्डकी प्रदेश आएको जानकारी दिनुभयो । सबै प्रदेश सभामा कानून निर्माणले गति लिनुका साथै विकास निर्माणमा कृयाशिल बनेको भ्रमणका क्रममा पाएको बताउँदै सबैतिर संघीयताको संस्थागत विकासको अभियान चलिरहेको उल्लेख गर्नुभयो ।

सुदूर पश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले संघीयता नेपालका लागि नयाँ संरचना र अनुभव भएको बताउँदै भ्रमणले आन्तरिक पर्यटन प्रद्र्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।