लेखनाथ महोत्सवको तेश्रो दिन उल्लेख्य उपस्थितिले व्यापारीहरु उत्साहित

पोखरा ।

लेखनाथ महोत्सवको तेश्रो दिन उल्लेख्य उपस्थितिले व्यापारीहरु उत्साहित हुन थालेका छन् । सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउँदै एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भएको पाइन्छ ।

उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १६ औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार परेकाले कर्मचारी, विद्यार्थीहरु लगायतका दर्शकको उल्लेख्य उपस्थिति रहेको पाइयो । महोत्सवको तेश्रो दिनको उल्लेख्य उपस्थितिले आपूmहरु उत्साहित भएको स्टल नं १८० मा फेन्सी स्टल राखेका गोर्खाका हरि सापकोटाले वताए । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ बिहिबारदेखि सुरु भएको महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा महोत्सवमा स्टल राख्नेहरुमा उत्साह थपिएको हो ।

महोत्सवमा आफना सहपाठी, ईष्टमित्र र साथी दामलीहरुलाई भेट्न पाईने भएपछि उपस्थिति बढेको र आफूहरुको व्यापार पनि बढेको स्टल नं ११२ मा किवीको स्टल राखेका दोलखा जिरीका पासाङ्ग तेन्जी शेर्पाले वताए । लेखनाथ महोत्सवमा एक पटक त जसरी पनि पुग्नु पर्छ है भन्दै पोखरा, तनहुँ स्याङजा लगाएत यस वरपरका गाउँबाट पनि दर्शकहरु मेला हेर्नका लागि आएका पाईयो ।

आजै विभिन्न राष्ट्रिय ख्याति प्राप्त दोहोरी गायक कलाकारहरुको प्रस्तुतीले महोत्सवमा दोहोरीका पारखीहरु हाँसो र खुसीका साथ रमेको पाइन्थ्यो । महोत्सवमा राखिएका विद्यालयहरुका शनिबारको प्रस्तुती उत्तिकै रोचक देखिन्थ्यो । सूचना प्रविधीका ३० स्टल रहेका ,त्यहा डिजिटल बोर्ड, पछिल्लो प्रविधीको प्रयोग ,फ्रि वाइफाइले आकर्षण बढेको सूचना प्रविधीका संयोजक बुद्घि बास्तोलाले वताए । महोत्सवमा दिनभरी स्टेजका रमाईला कार्यक्रम पनि हेर्न पाईने र घर फर्कने क्रममा आफुलाई आवश्यक सामग्री खरीद गर्न पाईने भएपछि महोत्सव स्थल व्यापारिक थलो समेत बनेको देखिन्थ्यो ।

बजार मूल्यभन्दा केही सस्तोमा आवश्यक सामग्री पनि पाईन थालेपछि मेला भरेर फर्कन दर्शकहरुले हातमा केही न केही लिएर फर्कन थालेपछि स्टलहरुमा विशेष भीड लागेको र क्रमशः व्यापारमा उत्साह थपिएको हो । बिहान १० बजे देखि साँझ आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई मनोरञ्जन दिनका लागि कलाकारका दोहोरी, हाँस्य, प्रहसन लगायत विद्यालयका प्रस्तुति, जनजातिका मौलिक संस्कृित, पप कन्सर्ट सहित थप मनोरञ्जनात्मक कार्यक्रमहरु रहेकाले दर्शकहरु बढेपछि स्टलवालाहरु निकै उत्साहित छन् ।

विद्यार्थीका मेहनत पनि त्यहा रहेको शैक्षिक प्रदर्शनीमा देख्न सकिने भएकाले महोत्सवले यस क्षेत्रको आर्थिक, समाजिक, कृर्षि र पर्यटनको विकासमा टेवा पुर्याउने गोगन मा वि कक्षा ११ की छात्रा ऐश्वर्या पौढेलले वताइन् ।