कास्की कांग्रेसको दोस्रो चरणको कार्यक्रम सार्वजनिक

पोखरा ।

नेपाली कांग्रेस कास्कीको चुनाव परिचालन अन्तर्गत पहिलो चरणको कार्यक्रम बुधबार सकिंदैछ । पहिलो चरणमा पार्टी र पार्टीसंग सम्बन्धित संगठनको चुनाव परिचालन कमिटी गठन र विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रम ४ दिनको थियो ।

कांग्रेसले दोस्रो चरणको नयाँ कार्यतालिका समेत सार्वजनिक गरेको छ । बिहीबारबट शुरु हुने दोस्रो चरण ७ दिनको हुने कास्की २ का क्षेत्रीय सभापति एवं निर्वाचन परिचालन समितिका सहसंयोजक माधवप्रसाद बाँस्तोला मधुले जानकारी दिए ।

उनका अनुसार कात्तिक २८ गते बिहीबार पोखरा–२०, भलामस्थित चण्डीपाटन तल्लोचौर, आँटीघर र २९ गते शुक्रबार मौजा लामाडाँडा र लामखेतमा घरदैलो अभियान सञ्चालन हुनेछ ।

घरदैलोमा उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर डा. मिनेन्द्र रिजाल, कास्की कांग्रेसका सभापति कृष्ण केसी लगायत पनि सहभागी हुनेछन् । कात्ति २९ गते शुक्रबार नै पत्रकार सम्मेलनमार्फत कांग्रेसको रणनीतिबारे जानकारी गराइने भएको छ । पत्रकार सम्मेलन पर्यटन बोर्डको सभाहलमा हुने बताइन्छ ।

यसैगरी कात्तिक ३० गते शनिबार पोखरा–११, मंसिर १ गते आइतबार र २ गते सोमबार पोखरा–३३, मंसिर ३ गते मंगलबार पोखरा–९ र पोखरा–१७, मंसिर ४ गते बुधबार र ५ गते बिहीबार पोखरा–१६ मा घरदैलो अभियान सञ्चालन गरिने बाँस्तोलाले जानकारी दिए ।

पहिलो चरणको कार्यक्रम घरदैलो र मतदाता भेटघाटलाई अन्तिम चरणमा पुर्याएको कास्की कांग्रेसका सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको घरदैलो र मतदाता भेटघाट कार्यक्रम बुधबार सकिने र दोस्रो चरणको कार्यक्रमलाई पनि सशक्त ढंगले अघि बढाउन संयोजक केसीले जानकारी दिए । उनका अनुसार पोखराका ११ वटै वडामा र वडा भित्रका पनि सबै कलष्टरमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम तीव्र भइरहेको छ ।

खानेपानी समस्या समाधान गर्नेलाई भोट
पोखरा–१७, शितलपथका स्थानीयले टोलको खानेपानी समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने स्पष्ट पारेका छन् । आशन्न उपनिर्वाचनका लागि चुनावी अभियान अन्तर्गत पोखरा–१७, शान्तिपथ पुगेका कांग्रेसका उम्मेदवार उम्मेदवार खेमराज पौडेल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल लगायतसंग स्थानीय चन्द्रमाया क्षेत्री, भगवती शर्मालगायतले खानेपानी समस्याबारे जानकारी गराएका थिए ।

‘जसलाई भोट दिए पनि हाम्रो समस्या कसैले बुझेनन्, यसपटक जसले खानेपानी समस्या हल गरिदिने वाचा गर्छन्, उनैलाई भोट दिने हो’, उनीहरूले गुनासो गरेका थिए । स्थानीयको गुनासो सुनिसकेपछि उम्मेद्वार खेमराजले खानेपानी समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए । ‘ढुक्क हुनुहोस्, तपाइँहरूको समस्या, दुःख आजदेखि मेरो पनि भयो । यसको समाधानका लागि म तत्कालै पहल थाल्नेछु ।’

उक्त अवसरमा उम्मेद्वार खेमराजले खानेपानी समस्यामात्र होइन, यावत समस्या समाधानका लागि आफूलाई भोट गरेर जिताउन आग्रह गरेका थिए । यता, पोखरा–९ मा पनि घरदैलो कार्यक्रम जारी छ । वडाको महेन्द्रपुल, सामसुङ गल्ली लगायतका क्षेत्रमा घरदैलो गरिएको वडासभापति उमा ठकुरीले जानकारी दिइन् । वडा नं. ९ मा कास्की कांग्रेसले नेता वीरेन्द्र नारायण विजुक्छेलाई खटाएको छ ।