जनताको सहयात्री हुँ ः उम्मेद्वार भट्टराई

पोखरा ।

कास्की क्षेत्र नं २ मामंसिर १४ गते हुने उप–निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टीका उम्मेदवार विद्या भट्टराई अधिकारीले आँफू जनताको सहयात्री भएको बताएकी छिन् । पोखरा १५ स्थित आँधिखोला तमु समाजमा आयोजित निर्वाचन प्रचारप्रसार तथा उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार भट्टराईले जनताको आकाक्षा बमोजिम आँफू सर्वसम्मत रुपमा उम्मेद्वार बनेको भन्दै जनताहरुको जीत हुने दृढता व्यक्त गरिन् ।

“हिजो रविन्द्रजीले बोक्नुभएको समृद्ध नेपालको अभियानलाई सार्थक पार्न तपाईँहरुले गर्नुभएको आग्रह बमोजिम नै म उम्मेद्वार बनेकी हुँ”उनले भनिन् “मेरो उम्मेद्वारीको हिस्सा तपाईँहरुसंगै जोडिएको छ”। जनताको विकासप्रतिको मोह सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै भट्टराईले भनिन“तपाईहरुले जुन विश्वास म माथि गर्नुभएको छ, त्यो विश्वास डगमगाउन दिने छैन”।

उम्मेदवार भट्टराईले आत्मनिर्भरताले मात्र समृद्धि तर्फ जान सकिने भएकाले राष्ट्रीय संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आँफू अघि बढ्ने बताईन । आत्मनिर्भरताका लागि मौलिक संस्कृतिको जगेर्ना आवस्यक रहने भन्दै भट्टराईले गुरुङ संस्कार र संस्कृतिको जगेर्नामा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उम्मेद्वार भट्टराईले सांस्कृतिक मुल्य मान्यता हाम्रा गौरव र सम्पत्ती भएकाले यसको रक्षाका लागि आँफू सदैब लागि पर्ने दावी गरिन् ।

असमानताले समृद्धि हासील हुन नसक्ने भएकाले समानता उत्मूख, न्यायमा आधारित, र विभेद रहित राज्य निर्माणका लागि कम्यूनिष्ट सरकारको मुख्य दायित्वलाई सघाउने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् । संविधानले दिएका सम्पूर्ण अधिकार कार्यान्वयन अझै हुन नसकेको अवस्थामा सबै एकजुट हुनुपर्नेमा जोड दिईन् ।

सो अवसरमा नेकपा कास्की सचिव बखान सिंह तमु, वडा नं १५ का अध्यक्ष प्रकास पौडेल, आँधिखोला तमु समाजका सल्लाहकार रुकबहादुर गुरुङ लगायतले सूर्य चिन्हमा छाप लगाई विद्या भट्टराईलाई अत्याधिक बहुमतले विजयी गराउन आग्रह गरे । आँधीखोला तमु समाजका कार्यवहाक अध्यक्ष नलबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव खिम गुरुङले गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरु गायत्री गुरुङ, प्रभा कोईराला, नेकपा कास्की सदस्यहरु बलराम पौडेल, गजकुमारी गुरुङ लगायतको सहभागिता थियो । यसैबीच शनिबार अपरान्ह पोखरा १५ स्थित शिवशक्ति टोलमा उम्मेदवार भट्टराईले जनतासंग साक्षात्कार गरेकी छन् । उक्त ठाउँका स्थानीयले पनि विद्याको जीतका लागि मतदान गर्ने प्रतिवद्धता जनाएका छन् ।