दक्षिण एसियाली ओलम्पिक काउन्सिल र साग सेफ दि मिसनको टोली पोखरामा

पोखरा ।

नेपालमा यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को नेपालको तयारी तथा आयोजना बारे जानकारी लिन दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली पोखरा आइपुगेको छ ।

सागको अन्तिम तयारीका लागि काठमाडौको बैठक र खेल स्थलको अनुगमन सकेर टोली आज पोखरा आइपुगेको हो । सागमा सहभागि हुने सातै राष्ट्रका ओलम्पिकका प्रतिनिधी तथा सेफ दि मिसनको टोली पोखरामा साग तयारी बारे जानकारी लिन तथा अनुगमनका लागि पोखरा आएको हो ।

पोखरा रंगशालामा आएको २३ सदस्यिय टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले र साग तयारी पोखराका सदस्यहरुले पोखरा विमानस्थलमा स्वागत गरेका थिए । टोली संगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल समेत संगै पोखरा आएका छन ।

टोलीले पोखरा रंगशाला स्थित खेल स्थलहरुको अनुगमन गरेको छ । टोलीले भोली १३ औं साग पोखरा संग शंयूक्त बैठक बसी साग तयारीका बारेमा जानकारी लिने र भोली दिउसो काठमाडौ फर्किने कार्यक्रम रहेको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।

टोलीमा भारत, वंगालादेश, पाकिस्तान, भुटान, श्रीलंका र मालदिभ्सका ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी र सबै देशका सेफ दि मिसनका प्रतिनिधीहरु रहेका छन । साग अन्तरगत पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ । सागमा सहभागी हुने कुनै पनि राष्ट्रमा प्याराग्लाइडिङ खेलको आधिकारिक खेल संस्था नहुँदा सबै राष्ट्रहरुले अन्तिम समयमा आएर प्याराग्लाइडिङमा सहभागि नहुने बताएका छन ।