सांसद अधिकारी र कोइराला सहितको टोलीद्वारा रुपाताल संरक्षण परियोजनाको निरीक्षण

पोखरा ।

कास्की रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइराला सहितको टोलीले निरीक्षण गरेको छ । आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी सहित गएको टोलीले स्थलगत निरीक्षण गर्दे हाल सम्म भएको कार्यप्रगति र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा छलफल गरेको थियो ।

परियोजना प्रमुख बसन्तराज पौडेलले परियोजनाले हाल सम्म गरेको कार्य बारे जानकारी गराउनु भएको थियो । पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले पर्यटनको क्षेत्रको लागि ठुलो परियोजना भएकोले निर्धारीत समयमै काम सम्पन्न गर्ने गरि काम गर्न निर्देशन दिनु भयो । अधिकारीले रुपाताललाई सौन्दर्यकरण गर्दे त्यहाँ उत्पादन जन्य गतिविधि सञ्चालन गर्नुपर्ने बताउनु भयो । यस परियोजना सम्पन्न भएपछि रुपातालको आकार र आर्कषण दुवै एकैपटक बढ्ने अधिकारीको भनाई थियो ।

गण्डकी प्रदेशका सांसद तथा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले रुपातालको संरक्षणको लागि कसैले कल्पना नगरेको नमुना कार्य हुन लागेको भन्दै परियोजना सम्पन्न पछि पर्यटकको आर्कषण गन्तब्य रुपा हुने बताउनु भयो । रुपामा ड्याम मात्रै बाध्ने होइन माथीबाट बगेर आउने ढुङगा माटो रोक्नको लागि तालमा आउनु अगाडिनै ३ वटा ड्याम बनाइने हुदा ताल पुरिने समस्या पनि अन्त्य हुने कोइरालाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले स्थानीयहरुको समन्वयमा केही समस्या आए समाधान गरेर अगाढि बढ्ने बताउनु भयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपाको मुहार फेर्न यस परियोजना आएको भन्दै रुपा क्षेत्रभित्र पर्ने सो परियोजनामा सवै संग समन्वय भएकोले कुनै समस्या नआउने बताउनु भयो । रुपातालको मुहान मात्रै नभएर रुपा गाउँपालिकाकै मुहार फेर्ने ठुलो परियोजना भएको ओझाले बताउनु भयो । परियोजना प्रमुख बसन्तराज पौडेलले हाल सम्म १७ करोड २३ लाख रकम मुआब्जा वितरण भई सकेको र बाँकी ३३ करोड ८३ लाखको लागि निवदेन परेको जानकारी दिनु भयो ।

परियोजनाको क्षेत्र भित्र १४ सय ४० रोपनी जग्गा परियोजनाले रोक्का गरेर कुल ९९५ रोपनीका जग्गा धनीलाई मुआब्जा लिन आउन सुचना प्रकाशित गरिएको नासु तिलक प्रसाद आचार्यले जानकारी दिनु भयो । कुल पाँच अरवको परियोजना पाँच बर्ष भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।