पोखराको सराङ्कोटमा एक घर एक धारा निर्माण गरिने

पोखरा ।

खानेपानीको अभाव झेल्दै आएकोे पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा १ घर १ धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो ।

सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख गन्तव्यको रुपमा विकास भएर घनावस्तीले पिउने पानीको अभाव हुँदा पर्यटकलाईसमेत असुविधा भएको अवस्थामा समस्या समाधानका लागि गत वर्ष ३ योजना शुरु गरिएको थियो । त्यसमध्ये एक सम्पन्न भएको र बाँकी दुई यसै वर्ष्भित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको बताइन्छ । प्रदेश सरकारको रु १ करोडको लागतमा स्याउदे लिफ्टिङ योजना सम्पन्न भएर ९२ घरधुरीमा गत साउनदेखि धारामा पानी आउन शुरु भएको र तोरीपानी बोरिङ योजना सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष रणबहादुर थापाले बताए ।

तोरीपानीका लागि प्रदेश सरकारले रु दुई करोड लगानी गरेको बताइन्छ । यस योजना सम्पन्न भएपछि १ सय ९२ धरधुरी लाभान्वित हुनेछन् । त्यसैगरि सराङकोटको सबैभन्दा ठूलो बूढीमूल लिफ्टिङ खानेपानी योजनाको हालसम्म ८० प्रतिशत काम सम्पन भएको र योजना सकिएपछि ४ सय घरधुरीमा धारा पुग्ने बताइएको छ ।

पानीको स्रोत रहेको बूढीमूलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर १ हजार ७ सय मिटर उचाइको सराङकोट चुचुरोमा रिजर्भ वायर ट्याङ्की र वितरण च्याम्बरमार्फत घरघरमा पिउने पानी पु¥याउने रहेको सो खानेपानी योजनाका अध्यक्ष पुष्कलबहादुर थापाले बताए । ४ वटा लिफ्टिङ मेसिनको प्रयोगबाट मुहान नजिक ५० हजार लिटर क्षमताको रिजर्भ वायर ट्याङ्की निर्माण गरिएको छ ।

त्यसैगरी चुचुरोमा ५० हजार लिटर क्षमताका ३ वटा रिजर्भ वायर ट्याङ्की र एउटा वितरण ट्याङ्की निर्माण सम्पन्न भएको छ । घर घरमा पानी वितरणका लागि २ वटा ३० हजार लिटर क्षमता वितरण ट्याङकी निर्माण गर्न बाँकी रहेको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताए। उनले हालसम्म २ सय ५० घरमा धारा जडान गरिसकिएको बताउँदै यसै वर्ष्भित्रमा योजनाले समेट्ने सबै घरमा धारा जडान गरेर पानी वितरण गर्ने योजना रहेको जानकारी दिए । बूढीमूल खानेपानी योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ मा रु ९९ लाख ७० हजार तथा चालू वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

त्यसैगरी महानगरले गत वर्ष रु १७ लाख बजेट विनियोजन गरेको थियो । प्रदेश सरकार स्थापनापछि खानेपानी योजनामार्फत सराङकोटले लाभ लिएको बताउँदै वडाध्यक्ष थापाले भने,“प्रदेश सरकार यहाँका जनताका लागि बरदान सावित भएको छ । सरकार स्थापनाको पहिलो वर्षमानै यहाँका सांसद रामजी बरालमार्फत तीन वटा योजना पेश गरिएकोमा सबै योजना बजेटमा परेर यसैवर्ष काम सम्पन्न हुने चरणमा छ ।”