कखरा वृत्तचित्रको प्रिमियर शो सम्पन्न

पोखरा ।

शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा को प्रिमियर शो पोखरामा सम्पन्न भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको बाराही सिनेमा हलमा प्रदर्शन गरिएको कखरा वृत्तचित्रको पोखरामा रहेको विभिन्न शिक्षा संग सम्बन्धित संघ सस्थाका पदाधिकारी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

विद्यालय, घर परिवार, प्रहरी प्रशासनको हेलचेक्रयाइ र विद्यालयमा विद्यार्थीले पाउने दण्ड सजायका कारण साना वाल मस्तिस्कमा कस्तो प्रभाव पार्छ भन्ने सन्देश प्रदान गर्न खोजिएको कखरा वृृत्तचित्र सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले एक पटक हेर्न आवश्यक रहेको प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले वताए ।

वृत्त चित्रले साना विद्यार्थीमा अभिभावक र प्रहरी प्रशासनको हेलचेक्राइका कारण र त्यसमा पनि विद्यालयमा अध्यापन गराउने शिक्षकहरु जसले अहिले पनि गृहकार्य नगरेको भरमा दण्ड सजाय गर्ने र विद्यालयका कर्मचारीहरुको कमजोरीका कारण एउटा विद्यार्थीले भोग्नुपर्ने नियतिको बारेमा वृत्तचित्रले प्रस्ट पारेको वताउदै शर्माले आगामी दिनमा आफ्नो संस्थाले युनाईटेड क्लवसंग सहकार्य गरी कखरा वृत्तचित्रलाई सम्पूर्ण विद्यार्थी शिक्षक र अभिभावकको वीचमा वृहत प्रदर्शन गरिने समेत वताए ।

सो अवसरमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र सोही अनुरुप शुक्रबार शैक्षिक चेतनामुलक कखरा वृत्तचित्रको सफल प्रदर्शन गरिएको वताए । आगामी दिनमा पनि यस्ता शैक्षिक चेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।

त्यस्तै क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिती संयोजक राजु श्रेष्ठले युनाईटेड क्लवको शिक्षा कार्यक्रम अन्तर्गत स्थापना कालदेखी विभिन्न सामुदायिक विद्यालयहरुमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति अक्षयकोष स्थापना गर्दै आएको, विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक तथा कम्प्युटर वितरण गर्दै आइरहेको सन्दर्भमा हाल आएर शैक्षिक चेतनामुलक वृत्तचित्र कखरा प्रदर्शन गरिएको वताए । श्रेष्ठका अनुसार आगामी दिनमा पनि शैक्षिक कार्यक्रमहरुलाई निरन्तरता दिदै कखरा वृत्तचित्रलाई विद्यार्थी र अभिभावकसामु समेत प्रदर्शन गरिने वताए ।

त्यस्तै वृत्तचित्रका निर्माता तथा एक्स्ट्रा एङगल गर्वु फिल्मस प्रालिका सञ्चालक विनोद लामाले आफ्नो सानो प्रयासलाई युनाईटेड क्लव र पोखरामा रहेका शैक्षिक क्षेत्रमा आवद्ध संघ संस्थाहरुको सहयोग प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि कखराको प्रदर्शनलाई सहयोग गर्न आग्रह गरे । सो अवसरमा एन प्याब्सन कास्कीका प्रतिनिधी, नेपाल शिक्षक महासंघ कास्कीको प्रतिनिधी, मन्टेश्वरी एशोसियएसन कास्कीका प्रतिनिधीहरु सहित प्याब्सन, एन प्याब्सन र सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, क्लवका पदाधिकारी तथा सल्लाहकारहरुको सहभागीता रहेको थियो ।

७० मिनेट लामो रहेको उक्त वृत्ति चित्रमा महानायक राजेश हमाल, भुपेन चन्द, शौैजन्य सुव्वा, गजे विष्ट, सञ्चारकर्मी श्रीकृष्ण न्यौपाने, गिनिज बुकमा नाम लेखाउन सफल बाल कलाकार सौगात विष्ट लगायतको अभिनय रहेको छ ।