पोखरामा जितिया पर्व

पोखरा ।

पोखरार माताहरु आफ्ना सन्तानको दीर्घायुका लागि मनाइने जितिया पर्व आजदेखि विधिपूर्वक शुरु भएको छ ।

पर्वको पहिलो दिन आज बर्तालु माताहरु स्नान गरी चोखो हुने, भोलि बिहान सूर्योदय हुनुअगावै सप्तमी तिथिको अवधिभित्रको समयमा ‘ओठङ्न’ गर्ने र त्यसपछि शुरु हुने उपवास आइतबार अपराह्न ४ बजेपछि नवमी तिथिको आगमण हुनासाथ उपवास सम्पन्न हुनेछ ।

आमाहरुद्वारा आफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका साथ मनाइने जितिया पर्व पोखरामा बस्दै आएका तराईवासी पनि आ–आफ्ना संस्कृतिअनुरुप मनाइरहेका छन् । पोखरामा बस्ने, मैथिल,भोजपुरी समुदायका साथै थारू जातिहरु आ–आफ्ना संस्कृतिअनुरुप नियमनिष्ठाका साथ पर्व मनाउन तल्लीन छन् । यसपल्ट तिथिको समयमा हेरफेर भएकाले बर्तालुहरुको उपवासको अवधि लम्बिएको छ ।

भोलि बिहान सूर्य उदयअगावैबाट उपवास शुरु भएपछि शनिबार दिनभरि र आइतवार अपराह्न ४ बजेसम्म अर्थात् ३६ घण्टा निराधार उपवासमा बस्नुपर्ने हुन्छ । शनिबार सूर्योदय हनुअगावै ‘ओठङ्न’ गरिन्छ । अर्थात् सप्तमी तिथिको अवधिभित्र उपवासमा बस्ने माताहरु अन्नजल, मिठाइ, फलफूल ग्रहण गर्छन् । सो विधिलाई ‘‘ओठङ्न’ भनिएको हो । ओठङ्नको समयमा परिवारका सदस्यहरु पनि भोजनमा सरिक हुने चलन पनि रहेको छ ।

सप्तमी तिथिमा जलाशयमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरेर पर्वको सङ्कल्प लिने गरिन्छ र सोही दिन बर्तालु महिलाले कोदोको रोटी र माछा खाने गरिन्छ भने विधवाले अरुवा–अरुवाइन खाने गर्छन् । यसअघि, बर्तालुले नजिकैको पोखरीमा स्नान गरी घिरौँलाको पातमा पीना र तेल राखेर जिमूतवाहन देउतालाई अर्पण गर्छन् । यसका साथै पर्वको सङ्कल्प पनि गर्छन् ।

व्रत बसेको दिनमा बर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ । सो डालीमा फलपूmल, मिठाइ र नरिवल राखेर नयाँ वस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ ।

पितृ पक्षमा यो पर्व मनाइने गरिएकाले मैथिल ब्राह्मणी बर्तालुले आ–आफ्ना दिवङ्गत सासु र आमाको मोक्षका लागि सप्तमी तिथिमै अन्य गोत्रकी ब्राह्मणीलाई निम्तो दिएर अनिवार्यरूपमा भोजन गराउने नियम छ । भोजन गर्ने महिलालाई ‘पितराइन’ भन्ने गरिन्छ ।