मुख्यमन्त्रीलाई जनताको गुनासो ‐ ‘डेंगु टोली पानी मात्र पोखेर गयो’

पोखरा ।

देशका ठाउँ ठाउँमा अहिले डेंगु रोगको संक्रमणको रुपमा फैलि रहेको छ । रोगकै कारण जनता त्रसित छन् भने सरकारले यसलाई नियन्त्रणका लागि परेको बताउदै आएको छ । गण्डकी प्रदेशमा करिब १३ सयको हराहारीमा डेंगु संक्रमित भएका छन् ।

यसरी डेंगु रोग फैलिदै गर्दा यसको नियन्त्रणमा खटिएका कर्मचारीहरुले भने लपारवाही गरेको गुनासो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष गरेका छन् । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको हेलो मुख्यमन्त्री कार्यक्रममा पोखराका गोविन्द रिजालले गुनासो गर्दै दिनदिनै फैलिरहेको रोग नियन्त्रणका लागि आएको अनुगमन टोलीले र्डमको पानी खन्याएको तर न्यूनीकरण र बच्ने उपायबारे केही सल्लाह सुझाब नै नदिएको बताए ।

‘तपाईको घरमा लामखुट्टेको लार्भा भेटियो भन्दै पानी खन्याए’ उनले भने ‘तर न्यूनीकरण र यसबाट बच्ने उपायको बारेमा केही नभनी गए ।’ पोखरा महानगरपालिकाको वडा न. १७ घारीपाटनमा खटिएको टोलीले गत शनिबार यस्तो व्यवहार गरेको रिजालको भनाई थियो । उनले प्रदेशले रोग नियन्त्रणका लागि छुट्याएको बजेटका प्रभावकारी कार्यन्वयन नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

जवाफमा मुख्यमन्त्री गुरुङले डेंगु रोग विरुद्ध प्रदेश सरकार गंम्भीर रहेको बतााए । उनले सम्वन्धित मन्त्री र सचिवलाई डेंगु विरुद्धको काम थप प्रभावकारी बनाउन २ दिन अघि मात्र निर्देशन दिएको जानकारी गराउदै पोखरामा उपत्यका थप कार्यक्रम आउने बताए । पोखराका प्रत्येक टोल विकास सस्था र विभिन्न आमा समुह तथा क्लबहरुलाई पनि डेंगु विरुद्ध परिचालन गर्ने योजनामा प्रदेश सरकार रहेको बताए ।

प्रदेश सरकारले यसअघि नै डेंगु नियन्त्रणका लागि भन्दै २१ लाख रुपैया प्रदेश स्वास्थ्य निर्देशालयलाई उपलब्ध गराइसकेको छ । सोही अनुसार हाल मनाङ, मुस्ताङ र कास्की बाहेकको जिल्ला टोली परिचालन गरिएको छ । कास्कीमा भने निर्देशालयले माइकिङ गर्ने र वडा वडामा टोली खटाएर खोज र नष्ट गर अभियान चलाइरहेको बताएको छ । तर डेंगु रोगबाट संक्रमण हुनेको सख्या घट्नुको सट्टा बढ्न थालेपछि यसको प्रभावकारिता माथि प्रश्न उठिरहेको छ ।