अदालतले रोक्यो प्रधानअध्यापक निलम्बन गर्ने गाउँपालिकाको निर्णय

प्रधानअध्यापकलाई पदबाट निलम्वन गर्ने ललितपुरको कोन्ज्योस्योम गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

कोन्ज्योसोम गाउँपालिकामा रहेको गुप्तेश्वर प्राविका प्रधानअध्यापक शेर बहादुर तामाङलाई निलम्वन गर्ने गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

अदालतको आदेशपछि तीन महिनादेखि निलम्वित प्रधानअध्यापक तामाङ काममा फर्किएका छन् । गाउँपालिकाको बैठकले अनियमितता अभियोगमा प्रअ तामाङलाई गत असोजमा निलम्वन गरेको थियो ।

सो निलम्वनलाई चुनौती दिदै तामाङले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।

उच्च अदालतका न्यायाधीशद्धय रमेश कुमार पोखरेल र टेक नारायण कुँवरको संयुक्त इजलासले गाउपालिका अध्यक्ष गोपीलाल स्याङतानको अध्यक्षतामा बसेको वोर्ड वैठकले गरेको निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।