टी–२० विश्वकप छनोटः सिंगापुर र मलेसिया विजयी, नेपालको खेल भोलि

अष्ट्रेलियामा हुने टी–२० विश्वकप २०२० को एसिया छनोट आजबाट सिंगापुरमा सुरु भएको छ ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत सहभागी छन् ।

युएईको समेत सहभागिता रहने भनिएपनि उसले ग्लोबल छनोट आयोजना गर्ने भएपछि आयोजकका रुपमा स्वतः अर्को चरण प्रवेश गरेको थियो । एसिया छनोटको शीर्षस्थानमा रहने टिम ग्लोबल छनोटमा पुग्नेछ ।

एसिया छनोेटको पहिलो दिनको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले उत्कृष्ट ओपनिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८६ रन जोडेको थियो ।

सिंगापुरका लागि ओपनरद्वय सुरेन्द्र चन्द्रमोहन र रोहन रंगराजनले क्रमशः ३९ बलमा ४७ रन तथा २० बलमा ३२ रन जोडेका थिए । यस्तै, टिम डेभिडले २९ बलमा ३८ रन जोडे भने मनप्रित सिंहले १८ बलमा ३४ रनको योगदान गरे ।

कतारका इक्बाल हुसेनले ४ ओभरमा ३३ रन दिँदै ४ विकेट लिए भने नुमन सरवारले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिएका थिए । यसैगरी तमुर सज्जादले १ विकेट आफ्नो नाममा लेखाए ।

१८६ रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रनमात्र जोड्न सक्यो ।
कतारको ओपनिङ जम्न नसकेपछि हार बेहोर्न पुगेको थियो । इनाम उल हक ९ बलमा ११ रन बनाएर आउट भए भने फैजल जावेदले १४ बलमा २९ रन जोडेका थिए ।

यस्तै, कप्तान तमूर सज्जदले २९ बलमा ३४ रन तथा मोहम्मद रिज्लानले ३३ बलमा नटआउट ३३ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । महम्मद तनवीरले १४ बलमा २६ रनको आक्रामक इनिङ खेलेका थिए ।

कतारलाई जितबाट बञ्चित गर्न जनक प्रकाश तथा अम्जद महबुबले समान ३–३ विकेट लिएका थिए । यसगरी, विनोद बस्करन, सेल्लाडोर विजयकुमार तथा चेतन सुर्यवंशीले कतारका १–१ खेलाडीलाई पभेलियनको बाटो देखाएका थिए ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा मलेसियाले कुवेतलाई ४६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा सबै विकेट गुमाएर १६२ रन जोडेको थियो ।

मलेसियाका लागि सफिक सरिफले २७ बलमा सर्वाधिक ३८ रन जोडेका थिए । यसैगरी सइद अजिजले २८ बलमा ३४ रनको योगदान गरे भने रनआउट भएका अमिनुद्दिन रम्लिले १२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रनको विस्फोटक इनिङ खेले ।

ओपनर विरन्दीप सिंहले २३ बलमा १७ रन तथा कप्तान अहमद फइजले १३ बलमा १५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

मलेसियालाई मध्यम स्कोरमा रोक्न मोहम्मद एहसानले २ विकेट लिए भने मोहम्मद कासिफ, इल्यास अहमद, सिराज खान तथा मोहम्मद असलमले समान १–१ विकेट लिएका थिए ।

१६३ रनको लक्ष्य लिएर मैदान ओर्लिएको कुवेत ओपनरद्वय रविजा सन्दरुवन डकआउट तथा संकर वरथप्पन १० बलमा ९ रनमात्र बनाएपछि समस्यामा परेको थियो ।

कुवेतका कप्तान मुहम्मद कासिफले ४६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय इनिङ खेलेपनि त्यो जितका लागि पर्याप्त भएन ।

अदनन इद्रीसले ५ बलमा १२ रन तथा उसमान वाहीदले १९ बलमा १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगदान गर्न नसकेपछि कुवेत हारबाट प्रतियोगिताको सुरुवात गर्न बाध्य भयो ।

मलेसियाको जित दिलाउन मोहम्मद स्याहादतले ३ विकेट लिए । यस्तै, सइद अजिज, पवनदीप सिंह र फित्रि शामले समान २ खेलाडीलाई पभेलियन फर्काउँदा अनवर रेहमानले १ विकेट आफ्नो नाममा लेखाए ।

नेपालको खेल भोलि

ग्लोबल छनोट पुग्ने सबैभन्दा बलियो दाबेदार मानिएको नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा भोलि कतारको सामना गर्दै छ ।

दुई खेलको सिरिजमा भर्खरै मलेसियालाई पराजित गरेर छनोट खेल्न सिंगापुर पुगेको नेपाली टोली बलियो आत्मबलका साथ मैदान प्रवेश गर्ने छ । नेपालको खेल भोलि बिहान ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।