शिशुवा अस्पतालको सामाजिक परीक्षण

पोखरा ।

पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरण गर्न अन्तक्र्रिया र सामाजिक परीक्षण भएको छ । २०७३ बाट सञ्चालनमा आएको शिशुवा अस्पतालमा १५ शैयासहित ओपिडी, फार्मेसी, ल्याब परीक्षण, एक्सरे, इसिजी,एम्बुलेन्स सुविधा छन् ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालबाट प्रदान गरिने सेवा जनमैत्री बनाउनुपर्ने बताउँदै सेवा चुस्त दुरुस्त बनाउनु पर्नेमा जोड दिएका थिए । जनताको स्वास्थ्यमा महानगरको दायित्व भएकाले नागरिकको स्वास्थ्यमा अस्पताल सचेत बन्नुको साथै रोग लाग्नै नदिनको लागि व्यायाम तथा स्वस्थ आहारबिहार सचेत गराउनु पर्नेमा जोड दिए ।

अस्पतालको सामाजिक परीक्षण गर्दा १ सय मा ५७ आएको छ । जुन अंकलाई सन्तोषजनक मानिन्छ । अस्पतालको सामाजिक तथा भौतिक अवस्था र कार्यप्रगतिको बारेमा अस्पतालका डा. मिलन श्रेष्ठले जानकारी गराएका थिए भने आर्थिक प्रतिवेदन लेखापाल दयाराम विश्वकर्माले जानकारी गराएका थिए ।

कार्यक्रममा महानगरपालिकाको वडा न २६,२७,२९,३०,३१, र ३२ का वडाध्यक्ष, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेशप्रसाद अधिकारी, महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, पोखरा महानगरपालिका प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी लगायत स्थानीयबासी सहभागी थिए । कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण ओझाले गरेका थिए ।