गुरुङको एजेण्डाः दुर्गममा आवासीय स्कुल, अन्तराष्ट्रिय मान्यताको प्राविधिक शिक्षालय

पोखरा । अहिले सामुदायिक विद्यालयहरु सुनसान छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा गाउँका जनशक्ति सहर छिरेपछि गाउँघरमा रहेका अधिकांश विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

कतिपय विद्यालयमा विद्यार्थी भन्दा बढी शिक्षक छन् । अलपत्र परेका विद्यालयहरुलाई एकीकृत गरी आवासीय विद्यालयका रुपमा सन्चालन गर्ने कास्की १ (ख) का कांग्रेस उम्मेद्वार दीपक गुरुङ (माइला) को घोषणा छ । उनले आफ्नो क्षेत्रका विकट र दुर्गम ठाउँमा आवासीय विद्यालय सन्चालन गर्ने र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पैरवी गर्ने बताएका छन् ।

‘गाउँका स्कुलहरु बन्द जस्तै छन् । स्कुलमा विद्यार्थी छैनन्, शिक्षक मात्रै छन् । १–२ जना विद्यार्थी कुरेर शिक्षकले जागिर पकाएका छन्,’ उनले भने, ‘यस्ता स्कुलहरुलाई एकीकृत गरी आवासीय विद्यालय बनाउन सके शिक्षा पनि गुणस्तरीय हुन्छ । विद्यार्थीले सहुलियत पनि पाउँछन् ।’ उनले धेरै जनसंख्या भएका वडा र कम जनसंख्या भएका पालिका तहमा प्राविधिक शिक्षालय सन्चालन गर्नुपर्ने एजेण्डा अघि सारेका छन् ।

पोखराको १०, १२, १३ र १४ नम्बर वडा सहित मादी गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्छ । गुरुङले मादीमा एउटा प्राविधिक शिक्षालय र कम्तिमा ३ वटा आवासीय विद्यालयको अवधारणा अघि सारेका छन् । ‘श्रम बजारमा वर्षेनी आउने श्रम शक्ति विदेश पलायन भैरहेका छन् ।

प्रदेशभित्रका उद्योग व्यवसायमा श्रम शक्ति छैन । कामदारले रोजगार र रोजगारदाताले कामदार पाउन नसकेको अहिलेको अवस्था छ,’ उनले भने, ‘अन्तराष्ट्रिय मान्यता हुने गरी प्राविधिक शिक्षालयहरु सन्चालन गर्ने, अन्तराष्ट्रिय स्तरको तालिम केन्द्रहरु सन्चालन गर्नुपर्छ ।

युवाहरुलाई प्रदेशमै रोजगारी खोज्न प्रेरित गर्नेछु । निर्वाचन क्षेत्रका हरेक परिवारका कम्तिमा एकजनालाई रोजगारी दिने मेरो एजेण्डा छ ।’ उनले स्थानीय सरकार र वित्तिय संस्था मार्फत प्रदेश सरकारको लगानीमा कर्जा सुविधा दिन पहल गर्ने प्रतिबद्धता जनाए । उनले शिक्षालाई आर्थिक सामाजिक रुपान्तरणसँग जोड्ने बताएका छन् ।

‘गुणस्तरीय शिक्षाको सुनिश्चितता छैन । प्राविधिक शिक्षाको पहुँच सबै विद्यार्थीमा पुगेको छैन,’ उनले भने, ‘२१ औं सताब्दीले आत्मसात् गरेको सिकाइ पद्धती अपनाएर वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने छ । त्यसको पैरवी म गर्नेछु ।’

उनले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै विश्व प्रतिश्पर्धी नागरिक उत्पादन गर्ने अभियानमा जोड दिने बताए । मादी गाउँपालिकामा कम्तिमा एउटा प्राविधिक शिक्षालय, सिक्लेस, थुम्सीकोट, याङजाकोट लगायत क्षेत्रमा आवासीय विद्यालयको परिकल्पना गुरुङले गरेका छन् ।