‘मतदाताका विश्वास, युवाका भरोसा’-कास्की ३(२) का काँग्रेस उम्मेदवार प्रकाश बराल


पोखरा ।
२०७४ काे निर्वाचनमा गण्डकी प्रदेशमा अप्रत्यासित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्याधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन बाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस ।

एमालेले एक्लै २७ सीट जित्दा बाम गठबन्धनको प्रमुख साझेदार नेकपा माओवादी केन्द्रले १२ सीट तथा जनमोर्चाले ३ सीट जित्यो । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सहित दुई तिहाई भन्दा बढी बहुमतका साथ सरकार चलाएको एमाले पार्टी भित्रैको विभाजनको सिकार हुन पुग्यो । अन्ततः १५ सीट जितेको कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्यो ।

अहिले सोही गठबन्धन निर्वाचनमा कायम छ । गठबन्धनकै बलमा बहुमत ल्याउने कांग्रेसको दावी छ भने एमाले पनि पहिलेको हाराहारीमा चुनाव जित्ने दावी गरिरहेको छ । कास्की ३ (२) बाट यसअघि एमाले उम्मेद्वार विजयी भए । कास्कीका मतदाताले एउटै व्यक्तिलाई निरन्तर चुनाव जिताएका छैनन् । अहिले पनि त्यस क्षेत्रमा पूरानै उम्मेद्वार दोहोरिएका छन् भने कांग्रेसलबाट युवा नेता प्रकाश बराललाई अघि सारेको छ ।

बराल त्यस्ता उम्मेदवार हुन्, जसले अहिलेसम्म कसैलाई चिढाएका छैनन् । जो, हर मतदातासँग परिचित छन् र सबैले आफ्ना जनप्रतिनिधि भनेर विश्वास गर्न सक्छन् । पोखरा २२ का ठाकुर बराल भन्छन्, ‘प्रकाश हामी युवाहरुको प्रतिनिधि हो । हाम्रो विश्वास र आस हो । प्रकाश बरालले नै चुनाव जित्नुपर्छ ।’ यसअघिका उम्मेद्वारले चुनाव जितेपछि गाउँलाई फर्केर नहेरेका भन्दै उनले प्रकाशलाई मतदान गरिदिन आग्रह गरे ।

अन्नपूर्ण ८ बीरेठाँटीका बिजय गुरुङ पनि प्रकाश बरालको विकल्प आफ्नो क्षेत्रमा नभएको बताउँछन् । ‘निकै ठूलो उत्साहका साथ हिजो जिताएका उम्मेद्वार ५ वर्ष बेपत्ता जस्तै भए । न विकास आयो न जनप्रतिनिधि फर्किएर आए,’ उनले भने, ‘हिजो नै गल्ती गरिसकेका उम्मेद्वारलाई अब जिताएर कुनै फाइदा छैन । हाम्रा उम्मेद्वार अब प्रकाश बराल हो ।’ बराललाई चुनाव जिताए हिजो जस्तो निराश हुन नपर्ने उनले सुनाए ।

सानै उमेरदेखि राजनीतिमा सक्रिय बराल कास्की कांग्रेसका लागि उदाहरण पनि हुन् । बराल र कास्की १ (२) का उम्मेद्वार दीपक गुरुङ (माइला) सबैभन्दा कम उमेरमा टिकट पाउने ब्यक्ति हुन् । ‘बरालको टिकटका दुई खाले सन्देश छः एक अब कांग्रेस युवालाई विश्वास गर्न थालेको बुझिन्छ । अर्को यत्तिका युवालाई चुनाव जिताए परिवर्तन र समृद्धी सम्भव छ भन्ने सन्देश आम मतदातामा पुगेको छ,’ उनका सहकर्मी देवेन्द्र केसीले भने, ‘यो पटक बरालले चुनाव जित्दा जिल्ला र समग्र निर्वाचन क्षेत्रलाई फाइदा छ । मतदातालाई बरालले केही गर्छन् भन्ने विश्वास छ ।’

बरालले फेवाताल समस्याको दीर्घकालीन समाधानको एजेण्डालाई प्राथमिकता दिएका छन् । स्वास्थ्य र शिक्षामा उनको विशेष जोड छ । उनले प्रत्येक वडामा प्राथमिक स्वास्थ्य चौकी र हरेक विद्यालयमा एक नर्सको व्यवस्था गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाए । अपांगता भएका र जेष्ठ नागरिक तथा पिछडा व्यक्तिहरुको निशुल्क उपचार, युवाहरुलाई प्रदेशभित्रै रोजगारी, विद्यार्थीलाई प्राविधिक शिक्षा उनका प्रमुख एजेण्डा हुन् ।

यस्तै, पर्यटन विकास र पर्यटनबाटै रोजगारी र समृद्धीको सपना उनले देखेका छन् । पछिल्लो समय जलवायू परिवर्तनका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा पारेको प्रभाव त्यसको रोकथामका लागि विश्व समुदायको भूमिकाका विषयमा उनले खुलेर बहस गर्न थालेका छन् ।

बरालको क्षेत्र हिमालसँग जोडिएको क्षेत्र हो । उनी पछिल्लो समय नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको प्रमुख सचिवका रुपमा कार्यरत छन् ।