युवा स्वरोजगार र उद्यमशीलताको क्षेत्रमा काम गर्ने योजनासहित घरदैलोमा अरुण गिरी

पोखरा।

कास्की क्षेत्र नम्बर २ २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले युवाहरुको स्वरोजगारीको क्षेत्रमा काम गर्नका लागि आफूसँग प्रशस्तै योजनाहरु भएको उल्लेख गर्दै त्यसका लागि आफूलाई मत दिएर जिताउन मतदातासँग आग्रह गरेका छन् ।

पछिल्लो समय दैनिक २ हजार ५ सय भन्दा बढि युवा वैदेशिक रोजगारी र अध्ययनका लागि त्रिभुवन विमानस्थलबाट बाहिरिने गरेको तथ्यांक पेश गर्दै अब युवालाई नेपालमै स्वरोजगार बनाउन नसक्ने हो भने अवस्था अझै कहालिलाग्दो हुने उनले बताए । यो निकै डरलाग्दो अवस्था देखिएको छ । नेपालबाट युवाहरु पलायन हुने यो क्रम नरोकिने हो भने देश अझै बढि खतरामा पर्ने निश्चित छ । गिरीले भने युवाहरुलाई स्वरोजगार बनाउनका लागि राज्यस्तरबाट गर्न सकिने थुप्रै कामको सूचीसहित मैले उम्मेदवारी दिएको हुँ । देशका युवालाई देशमै केही गर्नका लागि राज्यले सहयोग गर्न आवश्यक रहेको गिरीको तर्क छ ।

पछिल्लो समय नेपालमा स्टार्ट अप गर्नका लागि युवाहरु गाह्रो मान्ने गरेको यथार्थ रहेको उल्लेख गर्दै गिरीले त्यसका लागि नीतिबाटै युवाहरुलाई सम्बोधन गर्न जरुरी रहेको बताएका छन् । चुनावी घरदैलोको क्रममा व्यस्त गिरीले आफूले भेट्ने सबै युवाहरुलाई आफ्ना योजनाहरु सुनाउने गरेका छन् । उनले आफू निर्वाचित भएसँगै आईडिया बैंक र स्टार्ट अप नीतिको क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने बताएका छन् । आफ्नो एजेन्डामा समेत यो कुरा समेटेका गिरीले राज्यले युवालाई लगानीमैत्री वातावरण सृजना गर्न सक्ने हो भने धेरै युवाहरु विदेश जानबाट रोकिने ठोकुवा गरे ।

नयाँ उद्यम र व्यवसाय गर्न चाहने युवालाई राज्यको नीति र कर्मचारीतन्त्रले झन् दुख दिँदै आएको बताउँदै गिरीले त्यस सम्बन्धमा आफूले सरोकारवाला विज्ञहरुसँग सहकार्य गरि त्यसको समाधानमा ध्यान दिने प्रतिबद्धता जनाए । साथै उनले उद्यमशीलताका लागि आवश्यक व्यवसाय सुरक्षा कोष खडा गरि उद्यमीहरुलाई निर्धक्क भएर उत्पादनतर्फ ध्यान दिने वातावरण बनाउन आफू सक्रिय भएर लाग्ने बताए । उम्मेदवार गिरीले आफ्नो सोँच र चुनावी एजेन्डाहरुलाई जनताले निकै रुचाएकोले यो पटक जनताले आफूलाई जिताएर फरक सन्देश दिने दाबी समेत गरेका छन् ।