बैशाख ८,बागलुङ ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आज आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।
देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा उनका तीन वर्षीय छोरा विशाल सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
आमा तरकारी टिप्न बारीमा गएको र बालबालिका गोठमा खेलिरहेको समयमा आगलागी भएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुवीर विकले जानकारी दिए । आगलागीमा परेर मृतक विशाल सुनारका दाजु विनोदसुनार सामान्य घाइते भएका छन् ।
गोठको भारमा आगलागी भएको भए पनि गोठको तल्लो भागमा रहेका गाईबस्तुलाई कुनै क्षति नभएको बताइएको छ । भारमा भएको पराल र अन्य सामग्री भने जलेर पूर्णरुपमा नष्ट हुँदा करीब रु तीन लाख बराबरको आर्थिक क्षति भएको वडाध्यक्ष विकले बताए । रासस