बैशाख १९, एजेन्सी,
भारतमा कोरोनाविरुद्ध कोभिशील्ड खोप उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदार पुनावाला परिवारसहित बेलायतको शरणमा जानुभएको छ ।
भारतमा आफूलाई ज्यान मार्ने धम्की आएपछि बेलायत भागेको उनले बताउनुभएको छ । बेलायत गएका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तरवार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको जानकारी दिनुभएको हो ।
उहालाई कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरूले फोनबाट धम्क्याएको खबर नवभारत टाइम्सले लेखेको छ । सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड–एस्ट्राजेनिका खोप उत्पादन गर्दै आएको छ ।
’म यहाँ (लन्डन) निर्धारित समयभन्दा बढी बस्नेछु । म तत्काल भारत फर्कन चाहन्नँ । यो कोरोना संकट न्यूनीकरण गर्ने जिम्मेवारी मेरो काँधमा पनि छ । तर, म यो एक्लैले केही गर्न सक्दिनँ,’ उहाले भन्नुभएको छ ।
केही दिनअघि पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी बलको एक टोलीलाई नै उनको सुरक्षामा खटाएको थियो ।