“केन्द्र सरकारले नै सांसद लुकाउन शक्ति प्रयोग गर्यो” : रामचन्द्र पौडेल

ram chandra paudel

बैशाख १६, काठमाण्डौँ,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताउनु भएको छ ।

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप पनि लगाउनु भएको छ । बिहिबार आफ्नै निवासमा संचारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारवाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न माग गर्नुभयो ।

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरि गायब भएका थिए । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाउनु भयो ।

खिम विक्रम शाही प्रकरणको स्वतन्त्र छानवीन हुनुपर्ने भन्दै नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारवाही गर्नुपर्ने बताउनु भयो । स्थानीय प्रशासन, संघिय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले आरोप लगाउनु भयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही कोरोना संक्रमण भएको भन्दै चरक अस्पतालमा भेटिएका थिए ।