बैशाख ७, काठमाण्डौ,
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो ।
आजको खेलमा नेपालकालागि सन्दीप लामिछानेले चार ओभरमा ४८ रन दिएर चार विकेट लिएका थिए । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बोहोराले एकएक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई÷दुई विकेट लिए ।
आजको खेल हारे पनि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । आजको हारसँगै नेपालले फाइनल प्रवेशका लागि मलेसियासँगको खेल कुर्नुपर्ने भएको छ । मलेसियासँगको सानो अन्तरको हारले पनि नेपाल फाइनलमा पुग्न सक्नेछ । नेदरल्याण्ड्सको पनि फाइनलमा पुग्ने सम्भावना कायमै छ । तालिकामा नेदरल्याण्ड्सको पनि चार अङ्क भए पनि नेपाल रनरेटको आधारमा पहिलो स्थानमा छ । नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ ।