२४ घण्टामा १०१५ जनामा कोरोना सङ्क्रमण, बालबालिका बढि जोखिममा

corona

बैशाख ५, कास्की,

पछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेनसहित पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय पुगेको छ । अहिले नेपालमा ६ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको ज्यान गएसँगै अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ८३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबिच
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिका पनि जोखिममा रहेकाले उनीहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

केही स्वास्थ्यकर्मीलेसमेत पाँच वर्षमुनिका बालबालिका जोखिममा नरहेको बताउने गरेको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसबाट सबै उमेर समूहका मानिस जोखिममा रहेका बताउनुभयो ।

नेपालमा अहिलेसम्म तीन हजार पाँच सय ६५ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने अहिले पाँच वर्षमुनिका ५१ जना बालबालिका सक्रिय सङ्क्रमित छन् ।

यस्तै नेपालमा अहिलेसम्म पाँच वर्षमुनिका १० बालबालिकाको कोरोना सङ्क्रमणबाट ज्यान गएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।