पत्रकार अर्जुन गिरीको रिहाई माग्दै जिल्ला प्रहरी र प्रशासन कार्यालयमा धर्ना

पोखरा, ४ बैशाख

पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । साईवर क्राईम मुद्धामा पक्राउ गरि कारबाही गरेको भन्दै रिहाइको माग गर्दै पोखराका पत्रकारहरुले धर्ना दिएका हुन् ।

पत्रकार महासंघ कास्कीको अगुवाईमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक एक घण्टा धर्ना दिए । पत्रकार गिरीको तत्काल विनाशर्त रिहाईको माग गर्दै देशभरका पत्रकारहरु आन्दोलित भएका छन् ।

धर्ना पछिको कोषसभामा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुन पौडेल, कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले गिरीलाई विना शर्त रिहाइ गर्न, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नमा माग गरे ।

बुधबार पोखराबाट प्रकाशित हुने सबै पत्रिकाहरुमा सम्पादकीय कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राखेर विरोध गरेका थिए । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोमबार साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो । ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो ।

गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहोबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो । तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ ।