पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी

Pokhara Bimanisthal

चैत्र १६, पोखरा,

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो ।

हाल विमानस्थलको ७२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । तोकिएको म्याद सकिन ७५ दिन बाँकी छ । यो अवधिमा बाँकी काम सक्न सम्भव छैन । अहिलेकै गतिमा काम भए निर्माण पूरा हुन आगामी डिसेम्बरसम्म पुग्नुपर्छ ।

‘कोरोना महामारी नभएको भए ६ महिना अगावै सक्ने योजना थियो,’ उनले भने, ‘बीचमा काम एकदम सुस्त भएकाले तोकिएको समयमा सक्न मुस्किल छ ।’ विमानस्थलमा १८ प्रतिशत उपकरण र १० प्रतिशत सिभिलको काम बाँकी छ । विमानस्थललाई आवश्यक उपकरणमध्ये चीनबाट आउनुपर्ने सामान आइसकेको छ ।

अमेरिका, युरोप र अस्ट्रेलियाबाट आउनुपर्ने सामग्री आइपुगेको छैन । उपकरण जडान र परीक्षणका लागि सम्बन्धित कम्पनीकै जनशक्ति आउनुपर्छ । स्पष्ट भिसा नीतिको समस्याले तत्काल ती कामदार आउने अवस्था नरहेको आयोजना प्रमुख मुनकर्मीले बताए ।

यिनै विविध कारणले ठेकेदार कम्पनीले म्याद थपको निवेदन दिने तयारी गरेको हो ।
-यो समाचार दीपक परियारले ई कान्तिपुर पोष्टमा लेख्नुभएको छ ।