लकडाउन घोषणाको १ वर्ष : पछिल्लो अवस्थाले पोखरामा दोश्रो लहरको संकेत देखायो

Lockdown 2

चैत ११, पोखरा ।


नेपालमा पहिलो चोटि लकडाउन घोषणा गरिएको दिनको १ वर्ष वितेको छ । गतवर्ष आजकै दिन बिहान छ बजेदेखि नेपालमा लकडाउन घोषणा गरिएको थियो । एक वर्षअघि यो मितिमा नेपालमा २ जना कोरोना भाइरसका संक्रमति भेटिएको थियो । छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट सुरु भएको भाइरसको जोखिम नेपालमा ढिलो गरी भित्रिएको थियो । चीनको वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलो पटक भाइरसको पहिचान भएको हो ।
अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो । तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ ।
कोरोना संक्रमणको १ वर्ष नवित्दै उपलब्ध हुन थालेको कोभिड १९ विरुद्धको खोपले केहि आशा जगाएपनि पछिल्ला दिनको संक्रमण वृद्धिले कोरोना कहर दोश्रो लहरको संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ । सरुवारोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले सतर्कता नअपनाए भारतमा जस्तै नेपालमा सङ्क्रमण फैलिन सक्ने बताउनुभयो । जनस्वास्थ्यका मापदण्ड पालना हुन छोडेकाले जोखिम थप बढेको उहाँले बताउनुभयो । पछिल्लो ४ दिनमा पोखरा महानगरपालिकामा संक्रमितको संख्यामा एक्कासि वृद्धि भएको छ । मंगलबारमात्रै पोखरामा ३२ जना संक्रमित भेटिए । सोमबार ४३ र शुक्रबार ३० संक्रमित भेटिएपछि यहाँको अवस्था वर्ष दिनपछि कोरोना पुनः दोस्रो लहरमा चलेको अनुमान गरिएको हो । पहिलो चरणको खोप लगाएकालाई वैशाखको ७ देखि ११ गतेसम्म दोस्रो चरणको खोप दिने सरकारको तयारी रहेको छ ।