भारतीय मिडियाको दाबी :-भारतलाई लिपुलेक छोड्न चिनियाँ सैनिकले दबाब दिए ।

असार १२, एजेन्सी : नेपाली अतिक्रमित भूमि लिपुलेक क्षेत्रमा रहेका भारतीय क्याम्पहरू हटाउन चिनियाँ सैनिकहरुले चेतावनी दिइरहेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।

नेपालको भूमि अतिक्रमण गरेर कालापानी र लिपुलेकमा बस्दै आएका भारतीय सैनिकहरुले लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चेतावनी दिइएको समाचार भारतीय पत्रिका अमर उजालाले लेखेको छ।

चिनियाँ सैनिकहरु केही दिनयता भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकमा क्षेत्रमा आएर चिनियाँ झण्डा फहराइरहेका छन्। झण्डामा चिनियाँ भाषामा लेखेर लिपुलेक सीमा क्षेत्रको २ सय मिटर वर भारतले बनाएको क्याम्प र मानसरोवर जाने यात्रीका लागि बनाइएका विश्राम क्याम्प हटाउन चेतावनी दिइरहेको बताइएको छ।

नेपाली भूमि अतिक्रमण गरेर ढुक्कसँग वर्षौँदेखि बस्दै आइरहेका भारतीय सैनिकहरूलाई चिनियाँ सेनाले चेतावनी दिएपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या बढाइरहेको पत्रिकाले समाचारमा लेखेको छ।

लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच तनाव चलिरहेकै बेला लिपुलेकमा पनि चिनियाँ सेनाले भारतीय सेनालाई हट्न चेतावनी दिएपछि भारतीय सेना तरंगित भएको समाचारमा उल्लेख छ। thahakhabbr.com