लकडाउन खुकुलो भएसँगै राजधानीमा बढ्यो चहलपहल

जेठ २९, सरकारले पहिलो चरण अन्तर्गत लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौँमा चहलपहल बढ्न थालेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले पहिलो चरणमा २१ सेवा खुल्ने निर्णय गरेको थियो, जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत रहेका छन् ।

उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्न दिने निर्णय भएपछि बिहीबार बिहानैदेखि काठमाडौँका सडकमा सवारी साधनहरू चल्न थालेका छन् । मानिसहरु सडक तथा फुटपाथमा हिडिरहेका पनि देखिन्छन् । तर प्रहरीले चेकिङ पनि कडाइ गरिरहेको छ । प्रायः पसलहरू खुलेका छन् ।

पूजा सामग्री पसल समेत पशुपति क्षेत्रमा फुटपाथमै खुलेको देखिएको छ । किराना लयागत अन्य अत्यावश्यक सामग्रीका पसल भने यसअघि पनि बिहान खुलै हुने गर्थे ।

तिनकुने सूर्यविनायक सडकखण्डमा सवारी साधनको बाक्लो उपस्थिति देखिएको छ । अरु बेला धेरै जाम पर्ने यो ८ लेनको बाटोमा आज बिहानैदेखि सवारी साधनको चाप देखिन थालेको छ ।