भारतमा नेपाली मजदुरको पीडा : ‘कोरोनाले होइन, खान नपाएर मर्ने भयौँ ।

चैत्र ३०, कोरोना भाइरस भित्रिन सक्ने आशंकामा नेपाल-भारत सीमा नाका सिल गरिएको छ। दुवै देशबाट मानिस ओहोर दोहोर गर्न नदिन दुवै देशको सहमतिमा नाका सिल गरिएपछि भारतमा रहेका नेपाली भारतमै अड्किएका छन् भने कामका शिलशिलामा नेपालमा रहेका भारतीय यतै रोकिएका छन्।

नेपाल-भारत सीमानाका शिल गरिएपछि यसको सबैभन्दा ठूलो मार कामका लागि भारत गएका नेपालीमा परेको छ। मजदुरी गर्न भारत गएका नेपाली उतै रोकिएपछि न राम्रोसँग खान पाएका छन् न त राम्रोसँग सुत्नै पाएको अवस्था छ। काम गर्न नपाएपछि अलि-अलि कमाएको पैसाले ज्यान पाल्दै आएका मजदुरको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ। भोकभोकै बस्‍नुपर्ने अवस्था लामो लकडाउन र सीमानाका शिल भएपछि विचल्ली भएको मजदुरले टेलिफोन, ह्वाट्स एप, फेसबुकलगायत सामाजिक संजालमार्फत जानकारी गराउँदै आएका छन्। लकडाउनले काम गर्न नपाएपछि भोक-भोकै बस्नु परेको कोहलपुर घर भई हाल चण्डीगढ, सेक्टर ४५ बडेल्हामा बस्दै आएका चोपलाल ओलीले बताए। उनले भारत सरकारले भारतीय मजदुरलाई पहिलो प्राथमिकता दिएकोले नेपालबाट कामका लागि भारतमा रहेका नेपालीको पालो आउने सम्भावना नभएको बताए।

‘आधार कार्ड भएकालाई मात्र राहत दिने भारत सरकारको नीतिका कारण मजदुरी गर्न गएका अधिकांश नेपालीले राहत नपाउने पक्का छ,’ फेसबुक म्यासेन्जरमा कुराकानी गर्दै ओलीले भने, ‘मागेर गुजारा चलाई रहेका छौं। अव त माग्ने ठाउँ पनि छैन।’ उनले अलिअलि कमाएको पैँसा पनि सकिएपछि नेपालबाट आइएमई गरेर रुपैयाँ मगाएको बताए। खान नपाएर मर्ने भयौँ कमाएको पैसा सकिएको बताउँदै उनले खाद्यान्न किन्ने ठाउँ पनि नभएको बताए। ‘कोरोना भाइरसले नभई खान नपाएर मर्ने भयौं,’ उनले भने।

तिला गाउँपालिका, जुम्ला घर भई हिमाञ्चल प्रदेशमा मजदुरी गर्ने मिथुन सिंहले पनि नेपालबाट कामका लागि भारत आएका नेपालीको अवस्था दयनीय भएको बताएका छन्। उनले भारतका विभिन्न संघ-संस्था र व्यापार मण्डलले भारतीय मजदुरलाई खाद्यन्न वितरण गरे पनि नेपाली मजदुरले नपाएको बताए। प्रवासी नेपाली संघ, भारत पञ्जाव-चण्डीगढ संयुक्त राज्य समितिका सचिव निर्मल विसीले पनि लकडाउनका कारण मजदुरीको शिलशिलामा भारतको विभिन्न स्थानमा रहेका नेपालीले खान र बस्न नपाएको बताए। उनले भने, ‘कोरोनाका कारण भारत सरकारले लकडाउन गरेपछि रोजगारीको शिलशिलामा भारत आएका नेपाली अलपत्र परेका छन्। उनीहरुसँग न त बस्ने बास छ न त खाने गास नै छ।’ घर आउन नपाएर भारतमै रोकिएका मजदुरले नेपाल फर्किने वातावरण बनाई दिन नेपाल सरकारसँग आग्रह गरेका छन्।
आफूहरू नेपालमै मर्न चाहेको बताउँदै उनीहरूले नेपाल सरकारको कानुन अनुसार क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता जनाएका छन्। भारतबाट कोरोना भाइरस लिएर जाने इच्छा आफूहरूमा नभएको कोहलपुर नगरपालिका १३, भरैया घर भई हाल चण्डीगढ बस्दै आएका भूपाल खत्रीले बताए।

नेपालीको कुरा सुन्दा मन खिन्‍न ‘हामी नेपाल सरकारको मापदण्ड पूरा गरेर क्वारेन्टाइनमा बस्न तयार छौं। हामी मरे पनि आफ्नै देशमा मर्न चाहन्छौं,’ उनले भने, ‘कोरोना लिएर घर जाने हाम्रो चाहना होइन।’ अम्बिकेश्वरी मल्टी यातायात प्रालिका अध्यक्ष भद्रबहादुर ओलीले भारतबाट आउन चाहने नेपालीको संख्या धेरै भएको बताए। उनले मजदुरीका लागि भारतमा रहेका नेपाली अलपत्र परेपछि नेपाल ल्याउन आग्रह गरेको बताए। ‘नेपाल ल्याउने व्यवस्था छिटो मिलाउनुस् भनेर फोन आइरहन्छ। मेरो सम्पर्कमा मात्र पाँचवटा बस भरिने नेपाली भारतमा छन्’ उनले भने, ‘भारतमा रहेका नेपालीको कुरा सुन्दा मन खिन्न हुन्छ।’